नेपालमा काम गर्ने विदेशी श्रमिकको सङ्ख्यामा कमी
2024-08-06 17:17:16cri
Share with:

स्वदेशमा रोजगारीका अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेका बेलामा विदेशबाट नेपालमा आएर काम गर्नेको सङ्ख्या भने घटेको छ। पछिल्लो दुई आर्थिक वर्षमा विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ११ प्रतिशतले घटेको गोरखापत्र अनलाइनले लेखेको छ।                         

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा कामका लागि नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ६८५ रहेको छ। जसमा नयाँ एक हजार २० जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६६५ जना रहेका छन्। जबकि आर्थिक वर्ष २०७९/८० यो सङ्ख्या दुई हजार ९९४ जना थियो। जसमा नयाँ एक हजार ३६९ जना थिए भने श्रम नवीकरण गर्ने एक हजार ६२५ जना थिए। जुन सङ्ख्या आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ३०९ जनाले बढी हो। 

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ७४ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन्। आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट श्रम स्वीकृति लिएर काम गर्नेमध्ये ६२ प्रतिशत चिनियाँ रहेका छन्। अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन्। 

विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका चीनका साना तथा ठूला परियोजनाका लागि आवश्यक पर्ने सबै किसिमका प्राविधिक चिनियाँ नै ल्याइने गरेकाले अन्य देशको तुलनामा चिनियाँ नै धेरै भएको बताउनुभयो। उहाँका अनुसार अन्य देशबाट ठुला प्रोजेक्टमा माथिल्ला पदमा मात्रै आफ्नो देशको नागरिक ल्याउने गरेको तर चीनले भने अधिकांश प्राविधिक आफ्नै देशबाट ल्याउने गरेको छ। श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ। नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन्। 

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति विदेशबाट मगाएर काममा लगाउन सकिने व्यवस्था गरेको छ। नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा अदक्ष विदेशी श्रमिकसमेत नेपाल आउने गरेका छन्। यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने अवस्था सिर्जना भएको छ। 

श्रमविज्ञ एवं पूर्वसचिव पूर्णचन्द्र भट्टराईका अनुसार विदेशबाट आएर नेपालमा श्रम इजाजत लिएर काम गर्न आउनेमा ९० प्रतिशत उच्च दक्ष जनशक्ति रहेको छ भने नेपालबाट विदेश गएर काम गर्ने ठुलो सङ्ख्या अदक्ष जनशक्ति रहेका छन्। नेपाल सरकारले अब दक्ष नेपाली श्रमशक्तिलाई स्वदेशमै रोक्न सके मात्रै विदेशी श्रमशक्तिका लागि बिदेसिने नेपाली मुद्रा रोकिने उहाँको विश्लेषण छ।