यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको छ। धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ९६ प्रतिशतमा सकिएको कारोबार अनलाइनले लेखेकव छ।
कृषि विभागका अनुसार साउन २० सम्म देशभर ९६.३ प्रतिशत धान रोपाइँ सकिएको छ। यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो। गत वर्ष यो अवधिमा धान रोपाइँ ८१.८ प्रतिशतमात्र भएको थियो।
विभागका अनुसार कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको छ। गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो। पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नुपर्छ। यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको उहाँले बताउनुभयो। यस वर्षको धान रोपाइँ करिब सकिएको उहाँले जानकारी दिनुभयो।
यस वर्ष मनसुन छिटो नै सुरु भएको हुँदा धान रोपाइँ पनि छिट्टै सकिएको उहाँले बताउनुभयो। विभागको तथ्यांकअनुसार सबैभन्दा धरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ। यस प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर जमिनमा रोपाइँ हुन्छ। यस प्रदेशमा कुल जमिनको १०० प्रतिशत नै रोपाइँ सकिएको छ। गत वर्षको यही अवधिमा यो प्रदेशमा कुल क्षेत्रफलको ९९.२ प्रतिशत रोपाइँ भएको थियो। मधेश प्रदेशमा यस वर्ष धान रोपाइँ उल्लेखनीय वृद्धि भएको छ।
कृषि विभागको तथ्यांकअनुसार साउन २० सम्म ९५.४ प्रतिशत रोपाइँ सकिएको छ। यस प्रदेशमा ३ लाख ८३ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ। जसमध्ये ३ लाख ६८ हजार ३८३ हेक्टरमा धान रोपाइँ सकिएको हो। यसैगरी कर्णाली प्रदेशमा साउन २० सम्म कुल क्षेत्रफलको ९९.२ प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्षको यही अवधिमा कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ भएको थियो। यो प्रदेशमा ४१ हजार ९०४ हेक्टर जमिनमा रोपाइँ हुन्छ। जसमा ४१ हजार ५७८ हेक्टरमा रोपाइँ सकिएको छ।
यसैगरी लुम्बिनीमा ९६.७ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको सोही अवधिमा ८६.६ प्रतिशत रोपाइँ भएको थियो। यस प्रदेशमा ३ लाख ११ हजार हेक्टरमा रोपाइँ हुने गरेको छ। यस्तै, गण्डकी प्रदेशमा ९६.१ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्षको यही अवधिमा ८२.३ प्रतिशत रोपाइँ भएको थियो। यो प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने गरेको थियो। जसमध्ये ८८ हजार २५२ हेक्टरमा धान रोपाइँ भएको छ। बागमती प्रदेशमा धान खेती योग्य जमिनको ९४.९ प्रतिशतमा रोपाइँ सकिएको छ। यस्तै कोशी प्रदेशमा कुल जमिनको ९५ प्रतिशत धान रोपाइँ सकिएको छ।