चिनियाँ प्रहरीद्वारा नेपालको भोटेकोसी गाउँपालिकालाई राहत सामग्री प्रदान
2024-08-07 17:06:38cri
Share with:

छिमेकी देश चीनको तिब्बत स्वायत्त प्रदेशको सिगात्से सहरका प्रहरीले नेपालको भोटेकोसी गाउँपालिकालाई प्राकृतिक विपत्तिमा आवश्यक पर्ने राहत सामग्री ल्याइदिएका छन्। ४० फुटे कन्टेनरमा राखेर ल्याएको राहत सामग्री उनीहरुले भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पालाई बुझाएका नयाँ पत्रिका अनलाइनले लेखेको छ। 

नियमानुसार उक्त सामग्री छुटाउन भन्सार राजस्व तिर्नुपर्छ वा अर्थमन्त्रालयबाट राजस्व छुटको चिठी ल्याएर भन्सारबाट सामग्री छुटाउन सकिने प्रावधान छ। हाल प्रक्रियामा रहेकोले राहत सामग्री भन्सार यार्डमा रहेको तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले बताउनुभयो। ‘गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरिएता पनि  प्रक्रिया पुर्याएर भन्सार छुटाउन बाँकी छ,’ उहाँले भन्नुभयो।

सिँगात्से प्रहरीले ल्याएको राहत सामग्रीमा  टेन्ट ५०, त्रिपाल ४०, ब्ल्यांकेट एक सय, इलेक्ट्रिक जग एक सय, रेनबुट दुई सय, रेनकोट एक सय ,टर्चलाइट एक सय र इलेक्ट्रिक बेड १५ वटा रहेका छन्। त्यसैगरी मेडिकल फस्ट एडकिट, स्फाईग्मोम्यानो मिटर, स्टेथोस्कोप, स्टेनलेस स्टील टंग, डेप्रेसन, पेनलाइट, फस्टएड बक्स, इलेक्ट्रोनिक थर्मोमिटर, ग्लुको मिटर र अक्सिमिटर रहेका  छन्।

चिनियाँ प्रहरीले विपत्जन्य समयमा आवश्यक सामग्री दिएको भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताउनुभयो।  प्रक्रिया लामो भएकोले केही दिनपछि मात्रै पालिका ल्याउने उहाँले उल्लेख गर्नुभयो। चिनियाँ ४० फुटे कन्टेनरमा ल्याएको सामान नेपाली दुई कन्टेनर बराबर हुन्छ। राहत सामग्री हस्तान्तरणपछि चिनियाँ प्रहरी नयाँपुलस्थित बन्जीमा रहेको द लाष्ट रिसोर्टसम्म आएका थिए।