नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अगष्ट ७ तारिख बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चार जना चिनियाँ नागरिक नेपालमा लगानीका क्षेत्र खोज्दै आएको बताउनु भएको छ। सिंहदरबारमा अगष्ट ८ तारिख बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गुरूङले बारम्बार जहाज, हेलिकप्टर दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रलाई मात्रै असर नपुर्याई अन्तर्राष्ट्रिय लगानीमा समेत असर पारेको बताउनु भएको सेतोपाटी अनलाइनले लेखेको छ। यसबारे मन्त्रिपरिषदमा छलफल भएको समग्र समस्या समाधानका लागि नीतिगत सुधार गरेर जाने विषयमा पनि कुराकानी भइरहेको उहाँले बताउनुभयो।
‘हिजो चिनियाँ टोलीहरू घुम्नको लागि गएको होइन, कुनै न कुनै हिसाबले लगानीको क्षेत्र अवलोकनका लागि गएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा विदेशी लगानी पनि प्रभावित हुनसक्छ। विदेशीहरू कहाँकहाँ जानुपर्ने हुन्छ। हाम्रो आकाश सुरक्षित छैन, हाम्रो एयरलाइन्स, हेलिकप्टरहरू सुरक्षित छैन भन्ने देखाउँछ।’
उहाँले समग्र समस्या समाधान गर्न के–कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ भन्नेमा छलफल भइरहेको बताउनुभयो। कानुनमा कहाँकहाँ त्रुटि छन्? नियामक संथ्या नेपाल नागरिक उड्डयन प्राधिकरणले किन नियमन गर्न सकेको छैन भन्ने विषयमा पनि छलफल भइरहेको र समग्र समस्या समाधानका लागि कानुनी सुधारको बाटो खोजिने बताउनुभयो।
बारम्बार जहाज, हेलिकप्टर दुर्घटना हुनुलाई उहाँले असाधारण घटनाको संज्ञा दिनुभयो। ‘यो असाधारण घटना हो। नयाँ सरकार आएपछि दुइटा शोक वक्तव्य जारी गरिसकेका छौं। त्यसैले नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन नीतिगत सुधार गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
बुधबार रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटना भएको थियो। पाइलट अरूण मल्लसहित हेलिकप्टरमा सवार पाँच जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा चार जना चिनियाँ नागरिकहरू थाङ चुथाओ, वु यियाओ, ली चई र सइ चिमिङ रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
सरकारले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति समेत गठन गरेको छ। नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको हो। आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल छन्। प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको छ।