महिला भलिबल खेलाडीलाई जनही एक लाख पुरस्कारसहित सम्मान
2024-08-09 17:45:56cri
Share with:

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीलाई काठमाडौँ महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ।

महानगरले बिहीबार आयोजित कार्यक्रमबिच टोलीका १४ खेलाडी र मुख्य प्रशिक्षकलाई जनही एक लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको गोरखापत्र अनलाइनले लेखेको छ। यस्तै टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिँजियो लोकेन्द्र कुँवरलाई समान ५० हजार रुपियाँ प्रदान गरियो। 

महिला टोलीलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’, उपप्रमुख सुनिता डङ्गोललगायतले सम्मान गर्नुभयो। सम्मान कार्यक्रममा प्रमुख शाहले महिला भलिबल टोलीले  सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको बताउनुभयो।

‘‘हामीलाई छुटेको काम गर्न गर्न सम्झाएको छ। फाइनलमा तपाईँहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो। खेलमा कुनै कमजोरी थिएन। यस खेलले सबै नेपालीलाई एकै ठाउँमा उभ्याएको थियो। यसकारण, तपाईँहरूको प्रदर्शनले भलिबल साँच्चै राष्ट्रिय खेल भएको प्रमाणित भएको छ।’’

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ कभर्ड हलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को जित निकालेको थियो। घरेलु कोर्टमा उपाधि चुम्ने नेपालको सपनामा भारत बाधक बनेको हो। नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो।