नेपाल विद्युत प्राधिकरणको तीनवर्षे उपलब्धि सार्वजनिक गर्दै प्रवन्ध निर्देशक कुलमान घिसिङले अगष्ट ९ तारिख शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकारणको मुनाफा प्रस्तुत गर्नु भएको छ। नाफामा डेडिकेटेड र ट्रंकलाइनको केही अंश रहे पनि डेडिकेटेड र ट्रंकलाइन विद्युत्को महसुल जोडेर मात्रै प्राधिकरण नाफामा नदेखिएको दाबी उहाँले गर्नुभयो । प्राधिकरणको नाफा कागजी भएको हल्ला गरिए पनि त्यस्तो नभएको दाबी गर्दै महालेखा परीक्षकले गरेको अडिटको विवरणलाई गलत भन्न नसकिने उहाँको तर्क रहेको कान्तिपुर अनलाइनले लेखेको छ ।
‘पछिल्लो समय धेरै ठाउँमा विद्युत् प्राधिकरणको नाफा कागजी नाफा हो, प्राधिकरणले नाफा देखाउन डेडिकेटेड र ट्रंकलाइनको महसुलको बिल गरेर नाफा देखायो भन्ने गरिएको छ,’ घिसिङले भन्नुभयो, ‘अहिलेसम्म ८२ अर्बको नाफा भएको छ । त्यो नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले मात्रै भएको होइन । त्यो बिलको पनि केही अंश होला ।’ प्राधिकरणको ८२ अर्ब नाफा महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षणबाट आएको विवरण रहेको उहाँले प्रस्ट्याउनुभयो । घिसिङले महालेखा परीक्षकले गरेको अडिटको विवरणलाई गलत कसरी भन्न सकिन्छ भन्दै उल्टै प्रश्न गर्नुभयो ।
‘महालेखा परीक्षकबाट तीन जना चार्टर्ड एकाउन्टेन्टले हरेक वर्ष गरेको अडिटबाट आएको विवरण हो, महालेखा परीक्षकले गरेको अडिटको विवरणलाई गलत कसरी भन्न सकिन्छ,’ उहाँले भन्नुभयो । विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई माइनस वा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्याउँदा करिब ८२ अर्बको नाफा देखिएको उहाँले जनाउनुभयो । ‘आर्थिक वर्ष ०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यपछिका तीन वर्षमा ती दिन फर्केर हेर्नुपरेको छैन,’ घिसिङले भन्नुभयो, ‘आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले सुरु गरेको गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।’ आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको समेत उहाँको दाबी छ ।
विगत ३ वर्षमा विद्युत्को महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ । ‘प्राधिकरणले विद्युत्मा महसुल बढाएर नाफा भएको होइन,’ घिसिङले भन्नुभयो, ‘तीन वर्षमा करिब २५ प्रतिशत विद्युत् महसुल घटाएर भए पनि नाफामा वृद्धि भएको छ । अहिलेसम्म कुनै पनि सेवामा यसरी महसुल घटाएको छैन होला ।’
नाफामा वृद्धि भएसँगै विगत ८ वर्षमा मात्र प्राधिकरण करिब १ खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको घिसिङले उल्लेख गर्नुभयो । ‘विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ,’ उहाँले भन्नुभयो, ‘यसबाट प्रस्ट छ, संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी होइन । आन्तरिक रुपमा लगानीका लागि एउटा दह्रो स्रोत हो ।’
दोस्रो कार्यकालको तीनवर्षे उपलब्धि सुनाउँदै घिसिङले पछिल्लो समय विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेको दाबी गर्नुभयो । ‘नेपालले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गर्यो,’ उहाँले भन्नुभयो, ‘वर्षायाममा दैनिक ७
सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।’ सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने गरेको समेत उहाँले प्रस्ट्याउनुभयो ।
गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको जनाउनुभयो । गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको र आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको समेत उहाँले बताउनुभयो । विद्युत् निर्यात नेपालको जलविद्युत् विकासका लागि कोसेढुंगा भएको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०७२/७३ मा ५८ प्रतिशत मात्र विद्युतीकरण हुँदा ८ वर्षको अवधिमा ९९ प्रतिशत पुगेको घिसिङको दाबी छ । विगत तीन आर्थिक वर्षमा ९ प्रतिशत विद्युतीकरण गरिएको उहाँले जनाउनुभयो । देशभर ५९ लाख ३५ हजार ग्राहक पुगेको र प्राधिकरणले विकट बस्तीहरूको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढाइसकेको घिसिङको भनाइ छ । अब देश छिट्टै पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको समेत उहाँले दाबी गर्नुभयो।
‘आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट विद्युत् खपत हुन्थ्यो, अहिले वर्षमै १० अर्ब २३ करोड युनिट विद्युत् खपत हुन्छ,’ घिसिङले भन्नुभयो, ‘झन्डै ८ वर्षअघिसम्म प्रतिव्यक्ति ऊर्जा खपत बढेको १ सय ३१ युनिट मात्रै थियो । अहिले ४ सय युनिट पुगेको छ ।’