नेपालका ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्ष मुनिका बालबालिका रहेको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत अगष्ट ९ तारिख शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ। जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ। जसमध्ये देशभर ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्ष मुनिका बालबालिका रहेको तथ्यांकले देखाएको अनलाइन खबरले लेखेको छ।
देशभर ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसको ७१.३ प्रतिशत परिवारमा बालबालिका रहेको देखिएको छ। सबैभन्दा धेरै तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिकाको बसोबास रहेको छ। सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिकाको बसोबास रहेको कार्यालयको तथ्यांकले देखाएको छ।
अर्ध सहरी (७६.४ प्रतिशत) र ग्रामीण (७०.५ प्रतिशत) क्षेत्रको तुलनामा सहरी क्षेत्रमा सबैभन्दा कम (६५ प्रतिशत) परिवारमा बालबालिका रहेको देखिन्छ। बागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम देखिन्छ।