सर्बियाकी युवती येलिनाको चीन बसाइको कथा-२
2024-08-12 09:41:14CRI
Share with:

सन् २०१६ मा येलिनाले चीनमा अध्ययन गर्ने अवसर पाइन्। एक वर्षको तयारीको अध्ययनपछि, उनले नान चिङ कला एकेडमीमा नृत्य निर्देशनको अध्ययन पूरा गरिन्। त्यसपछि उनले नृत्यशास्त्रमा स्नातकोत्तर शिक्षा जारी राखिन्। यी वर्षहरूमा उनको चिनियाँ भाषा झन् राम्रो भयो र चिनियाँ संस्कृतिको ज्ञान अझ गहिरो हुँदै गयो।

 

येलिना: "नृत्य मेरो मुख्य विषय हो, किनभने चिनियाँ जातीय नृत्य अत्यन्त आकर्षक रहेको मैले पत्ता लगाएकी छु। चीनमा ५६ जातिहरू छन्, र हरेकका आआफ्नै विशेष नृत्यकलाहरू छन्। हरेक नृत्य फरक पनि छ र हरेक नृत्यले त्यो जातिको भावना प्रकट गर्दछ। अधिकांशले सामूहिक शक्ति र एकताको भावना देखाउँछ। र यी नृत्यहरू प्राचीन समयदेखि अहिलेसम्म निरन्तर चल्दै आएका छन्, मलाई लाग्छ यो अत्यन्त राम्रो कुरा हो।" 

येलिना भन्छिन्, उनले सानैदेखि नै अभिभावकहरूबाट सुन्दै आएकी थिइन् कि सर्बिया र चीन ‘स्टील फरेण्डसिप’अर्थात् गाढा मित्रता भएको देश हो, त्यसैले उनलाई लाग्छ कि सर्बिया-चीन सम्बन्ध सुधारका लागि केही काम गर्न आवश्यक छ। 

येलिना: "विद्यालयले विभिन्न गतिविधिहरूको आयोजना गरी हामीलाई चिनियाँ संस्कृतिबारे बुझ्न सहयोग गरेको छ, जसले चिनियाँहरूसँग संवाद गर्न सजिलो हुन्छ, यो वास्तवमै राम्रो छ। हाम्रो विद्यालयमा 'कलाबाट चीनको प्रदर्शन' नामको टोली छ, म यस टोलीकी संस्थापक र जिम्मेवार व्यक्ति हुँ। हामीले चीनको संस्कृतिको अनुभव गरेपछि आफैले देखेको चीनलाई आफ्नै कलात्मक दृष्टिकोणबाट सिर्जना गर्छौँ। हाम्रो अर्को क्लब छ, जसको नाम ‘चिनियाँ विदेशी संस्कृति र कला आदान-प्रदान संघ’ हो। यसले चिनियाँहरू र विदेशीहरूलाई कलामार्फत आदान-प्रदान गर्न सहयोग पुर्याउँछ। हामीले यहाँ धेरै नै समृद्ध चीजहरू अनुभव गर्न सक्छौँ।"

चीनमा करिब आठ वर्ष बिताइसकेकी येलिनाले ज्ञान प्राप्त गरिन्, अनुभवहरू सङ्गालिन् र मित्रहरू बनाइन्। उनी भन्छिन्, सर्बियामा रहेका उनका परिवारका सदस्यहरू उनका लागि खुशी छन् कि उनी यस्तो देशमा अध्ययन र जीवन बिताउँदैछिन्। चीनमा बिताएका यी वर्षहरुले उनलाई मानिस-मानिसबीच, राष्ट्र-राष्ट्रबीच, र सभ्यतालगायतको पारस्परिक अध्ययन र आदान-प्रदानको महत्त्व बुझाएको छ। खासगरी, युवाहरूको भूमिका महत्त्वपूर्ण छ। 

येलिना: "हामीले सधैँ एउटा भनाइ सुन्छौँ 'भविष्य युवाहरूमा निर्भर छ', त्यसैले कस्तो युवालाई प्रशिक्षण दिने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ कुनै राष्ट्रको संस्कृतिलाई वास्तविक रूपमा बुझ्न चाहनुहुन्छ भने तपाईँ लामो समयसम्म त्यहाँ बस्नुपर्नेछ र उच्च स्तरको शिक्षा प्राप्त गर्नु आवश्यक छ। त्यसपछि मात्र तपाईँले साँच्चै परस्पर अध्ययन र आदान-प्रदानमा संलग्न भएको भन्न सक्नुहुन्छ, विशेष गरी राष्ट्रहरूबीच।" 

हालै येलिनाले क्यापिटल नर्मल विश्वविद्यालयमा डाक्टर डिग्रीको स्वीकृतिको सूचना पाएकी छिन्। उनी चीनमा आफ्नो शिक्षा जारी राख्नेछिन्। 

येलिना: "एउटा स्पष्ट कुरा के हो भने मेरो मन अवश्य नै चीनसँग जोडिने छ। यदि म सानो डुङ्गा हुँ भने चिनियाँ हावाले मलाई संसारभरि बगाओस्, मैले यस्तै आशा गरेकी छु।"