जब चिनियाँ बालिकाले अचम्म पार्दै नेपालको व्याख्या गरिन्
2024-08-12 16:11:34cri
Share with:

----------चेतनाथ आचार्य


'हैन हैन मैले सबै परिवारको कुरा गरेको हैन। मैले त अरनिकोको श्रीमतीको पो कुरा गरेको' साढे आठ वर्षकी चिनियाँ फुच्ची 'हन चिया छन'ले प्रतिवाद गरिन्। उनलाई रबिनाले चिनियाँ भाषामा सम्झाइन् 'हामीले पनि अरनिकोका श्रीमतीकै कुरा गरेको। उनका ११ जना श्रीमती थिए। त्यसमध्ये पहिलो चाहिँ नेपाली थिइन्, बाँकी दसजना चिनियाँ।'

         'एघारजना श्रीमती !' फुच्चीले आश्चर्यभाव व्यक्त गर्दै हत्केलाले आफ्नो अनुहार छोपिन्। चिनियाँले लजाउँदा ठ्याक्कै नेपाली जस्तै गरी भाव व्यक्त गर्छन्। त्यही संस्कार उनले पनि व्यक्त गरिन्। उनको अनुहार रातोपिरो भएको थियो। तुरुन्तै सम्हालिएर भनिन् 'माफ गर्नुहोला। मलाई यस बारेमा थाहा थिएन। तपाईंहरु नेपाली भएकाले स्पष्ट पारिदिनुभयो। अब आउने अरु पर्यटकलाई यो कुरा सुनाउँछु।'

    गुलावी रङको जुत्ता र सेतो मोजासँगै सेतो भुइँमा बुट्टा भएको जामा लगाएकी हन चिया छनले बाहुला बिनाको निलो रङको ज्याकेट लगाएकी थिइन्। ज्याकेटमा प्रिन्ट गरिएको लोगोबाट उनी स्वयंसेवक हुन् भन्ने कुरा झल्कन्थ्यो। लोगोमा 'बीभीएफ' लेखिएको थियो। यसको अर्थ 'बेइजिङ भोलेन्टियर फेडेरेसन' हुन्छ। संस्थाले बनाएको ज्याकेट उनी जस्ता बालिकाका लागि उपयुक्त साइज थिएन भन्ने कुरा उनको शरीरमा हङ्लङ्ग झुन्डिएको ज्याकेटले बताउँदै थियो।

         कक्षा २ को वार्षिक परीक्षा दिएर गर्मी विदामा आफ्नी आमासँग उनी अरनिकोले निर्माण गरेको श्वेतचैत्यमा पुगेकी थिइन्। विदा अवधिभर त्यहाँ घुम्न जाने चिनियाँ तथा विदेशी पर्यटकलाई अरनिकोको बारेमा व्याख्या गर्न थालेकी उनले सुनाइन्। अरनिकोको जीवनीसँगै त्यहाँ राखिएका काठमाडौँ, पोखरा र लुम्बिनीका चित्र हेरेर उनी नेपालका बारेमा आफूले जानेको कुरा बताउँदै थिइन्।

    गत असार २२ गते अर्थात् जुलाई ६ तारिख शनिबार बेइजिङको केन्द्र भागमा रहेको अरनिको निर्मित श्वेतचैत्य अवलोकनमा हामी पुगेका थियौँ। त्यही दिन श्वेत चैत्यको प्रदर्शनी कक्षमा भेट भएकी थिइन ती चिनियाँ फुच्ची। परिचय गर्ने क्रममा उनले आफ्नो नाम 'हन चिया छन' बताइन्।

    नेपालबाट मित्रहरु डा बिनोद मञ्जन र उहाँकी श्रीमती गायत्री बिष्ट आफ्नी छोरी विज्ञताको दीक्षान्त समारोहमा भाग लिन चीनको पल्लो शान्षी प्रान्तको सिआन आएका थिए। त्यही मौकामा बेइजिङमा मेरा पाहुना बन्न आइपुगेका उनीहरुलाई घुमाउने क्रममा सकुन्तला राई र रबिना राई पनि मिसिन आइपुगे। चिनियाँसँग बिहे गरेर चीनको आन्हुई प्रान्तमा बसोबास गर्ने सोलुखुम्बुका चेलीहरु सकुन्तला र रबिना पनि हामीसँगै ग्रेटवाल गएर फर्केका थिए। रबिना र सकुन्तलालाई चिनियाँ भाषा फरर्र बोल्न आउने भएकाले हामीलाई बेइजिङ घुम्न थप सहज भएको थियो।

    बेइजिङमा जुलाई महिनाको उखरमाउलो गर्मी त्यसमाथि मध्य दिउँसोको उखपट्टे घामबाट असिनपसिन हुँदै ग्रेटवालबाट फर्कदै थियौँ हामी। बेइजिङबाट ६० किलोमिटर उत्तरमा रहेको चोयुङक्वाङ ग्रेटवाल जाँदा सार्वजनिक बसमा गएका थियौँ। फर्कदा एउटा कार फेला पर्‍यो। केहीबेरको मोलमोलाइपछि हामी कारमा फर्कने भयौँ। तालु पोल्ने गर्मीमा बसको यात्रा भन्दा कारमै पाँच जना खाँदिएर ग्रेटवालबाट बेइजिङको केन्द्र भागतिर फर्कने निधो हामीले गरेका थियौँ। तर कार चालक परेछ चीनको पूर्वउत्तर हैलुङचाङ प्रान्तको। उसलाई बेइजिङका बारेमा उति जानकारी रहेनछ।

    ग्रेटवालबाट फर्कदा हाम्रो लक्ष्य थियो महान् नेपाली कलाकार अरनिकोले निर्माण गरेको श्वेतचैत्यको रहेको स्थल। बेइजिङको दोस्रो चक्रपथको उत्तरपश्चिमी क्षेत्र फुछङमन भित्रपट्टि रहेको श्वेतचैत्यका बारेमा मैले कसै गरे पनि चालकलाई बुझाउन सकिँन। सकुन्तलाले चिनियाँ भाषामा भनिन् तै पनि चालक अलमलिएर 'मलाई थाहा छैन' भन्ने भाव व्यक्त गरिरह्यो। मैले मोबाइलमा लोकेसन खोलेर चालकलाई दिएँ। उसले मेरै मोबाइलको जिपिएसबाट कार चलाउँदै श्वेतचैत्य अगाडि ल्याइपुर्‍यायो।

    श्वेतचैत्यभित्र प्रवेश गरेपछि त्यहाँको भव्य बिहार अनि बौद्धमूर्तिसँगै छतमा खोपिएका रञ्जना लिपिका बौद्ध मन्त्र 'ओम मेनेपेमे हुँ' हेर्दै हामीले अरनिकोको शालिकसँग केहीबेर संवाद गर्‍यौँ। सिलालेखमा नेपाली भाषामै लेखिएको अरनिकोको परिचय सस्वर वाचन गर्‍यौँ। श्वेतचैत्यलाई दाहिने बनाएर एक फन्को परिक्रमा गरेपछि फर्कने क्रममा पूर्वतिरको हलमा प्रदर्शित अरनिकोको जीवनी दर्शाउने चित्रकथा अवलोकन गर्दा भेट भएको थियो चिनियाँ फुच्ची 'हान चिया छन'सँग।

    उक्त प्रदर्शनी कक्षमा चित्रकथाका रुपमा अरनिकोको जीवनी समेटिएको छ। अनरिकोले बाल्यकालदेखि नै मूर्ति र चित्र बनाउन सिकेको, १६ वर्षे किशोरावस्थामा तिब्बत गएको, चीनको राजधानी गएर तत्कालीन सम्राट कुब्लाई खानसँग भेट गरेको, चीनमा विशाल सांस्कृतिक सम्पदा निर्माण गर्ने क्रममा श्वेत चैत्य बनाएको आदि कुराहरु चित्रकथामा समेटिएको छ। अरनिकोको जीवनचित्रको व्याख्या गर्दा स्वतः नेपाली भूगोल र संस्कृति पनि आउने नै भयो। अनि मृत्यु हुने समयमा उनकी श्रीमती उनीसँगै रहेको कुराको व्याख्या गर्दा श्रीमतीको प्रसङ्ग आएको थियो। ती चिनियाँ बालिकालाई अरनिकोले ११ जनासँग बिहे गरेका थिए भन्ने चाहिँ थाहा रहेनछ।

    छोरीमा नेतृत्व विकास, स्वयंसेवा, मानिसहरुसँग घुलमिलसँगै सामाजिक भावना, वाकपटुता र सञ्चारको विकास होस् भनेर हान चिया छनकी आमाले त्यस्तो कार्यमा सहभागी गराएकी रहिछन्। ती फुच्चीले अचम्मसँग नेपालको व्याख्या गरिन्। अरनिकोका बारेमा त उनी जानकार नै थिइन् होला। किनभने श्वेतचैत्यमा आउने पर्यटकलाई व्याख्या गर्ने अभ्यास गर्नका लागि उनले अरनिकोका बारेमा पक्कै पनि खोजबिन गरेको हुनसक्छ। त्यसमा अरनिकोका ११ श्रीमती थिए भन्ने कुरा उनलाई थाहा नहुनु स्वाभाविक हो। यस बारेमा अधिकांश चिनियाँलाई थाहा छैन। भरखर साढे ८ वर्ष पुग्दै  गरेकी फुच्ची जो कक्षा २ को वार्षिक परीक्षा दिएकी छन्, त्यस्ती बालिकालाई अरनिकोका श्रीमतीका बारेमा थाहा नभए पनि नेपालका बारेमा त्यतिको जानकारी हुनु आफैँमा आश्चर्य लाग्दो कुरा थियो।

    हान चिया छनले पोखरा र लुम्बिनीको फोटो देखाउँदै अत्यन्त सुन्दर ढङ्गले व्याख्या गरिन्। उनले बारम्बार दोहोर्‍याउने वाक्य चाहिँ 'नेपाल हिमालको काखमा रहेको सुन्दर देश' भन्ने थियो। नेपालको सौन्दर्यलाई उनले प्रसङ्ग अनुसार अरनिकोमा लगेर जोड्ने गर्थिन्। आजभन्दा साढे सात सय वर्ष अगाडि साधन र स्रोतको सीमिततामा पनि अरनिकोले नेपालको सौन्दर्यलाई चिनियाँ सामु निकै गहन ढङ्गले प्रस्तुत गरेका रहेछन् भन्ने कुरा मैले ती बालिकाको व्याख्याबाट अनुभूति गरेँ। उनी अलमलिएको र लजाएको क्षण चाहिँ अरनिकोका ११ श्रीमती थिए भन्ने कुरामै थियो।

    सत्यमोहन जोशीले २०४४ सालमा लेख्नु भएको कृति 'कलाकार अरनिको' मा अरनिकोको जीवन विस्तृत रुपमा उल्लेख छ। अहिलेसम्म प्राप्त सामग्रीमा अरनिको चिनाउने सबैभन्दा गहन कृति नै यही हो। यो कृतिको अन्तिम पृष्ठमा जोशीज्यूले अरनिकोको वंशतालिका चित्र अर्थात् 'फ्यामिली ट्री'लाई हातैले कोरेर नेपाली र चिनियाँ भाषामा राख्नु भएको छ। उक्त स्रोत अनुसार अरनिकोका ११ श्रीमती मध्ये पहिलो नेपाली थिइन् जसबाट एउटा छोरा र एउटी छोरी थिए। दोस्रो श्रीमती हान जातिकी थिइन्। उनीबाट जन्मिएकी एक छोरी भिक्षुणी बनेको कुरा जोशीले प्रष्ट्याउनु भएको छ। तेस्री श्रीमती मङ्गोलियन जातिकी थिइन्। उनीबाट सन्तान भएनन् भने चौथी श्रीमतीबाट दुई छोरी भएका थिए। पाँचौ श्रीमतीबाट एक छोरा थिए भने छैटौँबाट कुनै सन्तान थिएनन्। सातौँ र आठौँ श्रीमतीबाट एकएक छोरी जन्मिएका थिए भने नवौँ श्रीमतीबाट दुई छोरा र एक छोरी थिए। दसौँ र एघारौँबाट एकएक छोरा थिए। सन् १२४४ मा जन्मिएका अरनिकोको मृत्यु ६२ वर्षको उमेरमा सन् १३०६ बेइजिङमा भयो। उनका ११ श्रीमती मध्ये ९ श्रीमतीबाट १३ सन्तान थिए।

    लामो समयसम्म एक सन्तानको नीति लिएर भरखरै बढीमा ३ सन्तान जन्माउन पाउने नीतिमा पुगेको चिनियाँ समाजका बालबालिका मात्र होइन युवा र पौढ पुस्तालाई पनि एक व्यक्तिका ११ श्रीमती र १३ सन्तान भन्दा अचम्म लाग्नु स्वाभाविक हो। एघार श्रीमती त हामी नेपालीका लागि पनि अचम्म लाग्दो नै हो।    

    हामी नेपालीहरु छिमेकी मुलुकका बारेमा धेरथोर जानकारी राख्छौँ। हाम्रा पाठ्यक्रमले छिमेकी मुलुकका बारेमा केही न केही जानकारी दिएकै छ। तर चिनियाँ पाठ्याक्रममा नेपालका बारेमा निकै थोरै अथवा सीमित जानकारी मात्र राखेको छ। कतिपय जानकारी अधुरा र गलत पनि छन्। अझै पनि चिनियाँहरु गौतम बुद्ध भारतमा जन्मिएका थिए भनेर पढ्छन् भने विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ भनेर पढ्छन्। यस बारेमा एउटा रोचक जानकारीः सन् २०१५ मा बेइजिङमा डा रेन्नी छनसँग भेट भएको थियो। उनी चीनको पल्लो शान्षी प्रान्तमा जन्मिएर १४ वर्षकी हुँदा आफ्ना बुबाआमासँग न्युजिल्याण्ड बसाइ सरेकी चिनियाँ प्रवासी हुन्। उनले भने अनुसार चीनमा छँदासम्म उनले गौतम बुद्ध भारतमा जन्मिएको लेखिएका पाठ्यपुस्तक घोकिन्। विश्वको सर्वोच्च सगरमाथा चीनमा पर्छ भन्दै पढिन्। जब उनी न्युजिल्याण्ड पुगिन् तब उनलाई थाहा भयो गौतम बुद्ध नेपालमा जन्मिएका थिए। अनि विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ। चीनमा हुँदासम्म उनले नेपालको नाम नै सुनेकी थिइनन्। तर हजारौँ किलोमिटरको दुरीमा पुगेपछि बल्ल नेपालका बारेमा थाहा पइन्।

    कारण के रहेछ भने एडमण्ड हिलारीले नेपालका तेन्जिङ नोर्गे शेर्पासँग पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि न्युजिल्याण्डका पाठ्यपुस्तकमा नेपालका बारेमा धेरै कुरा पठनपाठन हुन थाल्यो। चीनमा रहुन्जेल उनले सीमा जोडिएको मुलुकको नाम थाहा पाइनन् तर ११ हजार किलोमिटरभन्दा टाढा न्युजिल्याण्ड पुगेपछि उनले नेपालका बारेमा धेरै कुरा थाहा पाइन्। फलस्वरुप उनी नेपाल आएर मध्यपश्चिम पहाडी जिल्लामा स्वास्थ्य स्वयंसेविका भएर काम गरिन्।

    त्यसो त अहिले नेपाल र नेपाली भाषा क्षेत्रमा काम गर्ने चिनियाँहरु पनि विश्वविद्यालय (स्नातक तहमा) भर्ना भएपछि मात्र नेपालको नाम सुनेको बताउँछन्। नेपाली भाषा अध्ययन गर्नका लागि स्नातक तहमा भर्ना हुने एउटा विद्यार्थीलाई नेपाल भन्ने देश कहाँ पर्छ भन्ने कुरा थाहा नहुने देशमा कक्षा २ सकेकी बालिकाले पर्यटकलाई नेपालको परिचय गराउनु आफैँमा आश्चर्यजनक भइहाल्यो।

    श्वेतचैत्यबाट फर्कदै गर्दा ती बालिकाले आफ्नी आमासँग भन्दै थिइन् 'आमा अरनिकोका ११ श्रीमती रहेछन् है।' उनकी आमा बाहिरपट्टि प्राङ्गणको छायामा ल्यापटप खोलेर केही काम गर्दै थिइन्। राम्रैसँग अङ्ग्रेजी बोल्ने उनले आफ्नो व्यवसाय व्यापार रहेको बताएकी थिइन्। छोरीको जिज्ञासामा उनको अनुहार पनि हेर्न लायक भएको थियो। उनले आश्चर्य व्यक्त गर्दै भनिन् 'मलाई थाहा छैन। उहाँहरु नेपाली हो। त्यसैले अरनिकोका बारेमा उहाँहरुलाई बढी थाहा होला।' यति भनेर उनले थोरै जिब्रो निकालेर हाँसिन्।

         सानी बालिकाको नेपालप्रतिको रुचि र उनको क्षमताले देखेर हामी गदगद भयौँ। उनको सामीप्यले दिएको मायालु र कोमल भावनाले पुलकित बनाएको थियो। ग्रेटवाल चढ्दाको थकाइ र गर्मी भुलेर हामी फूलका थुङ्गा जस्तै हुलका र सितल भएका थियौँ।

साभारः सेतोपाटी अनलाइन (२०२४ अगष्ट ७)