कारोबार र पुँजीकरण अहिलेसम्मकै उच्च
2024-08-12 16:28:42cri
Share with:

नेपालमा सेयर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ। आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन। कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ।

आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ। उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ। साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको गोरखापत्र अनलाइनले लेखेको छ।

आइतबार नेप्से ९४.४६ अङ्कले उकालो लागेर २८६०.८४ को विन्दुमा पुगेर रोकिएको छ। सेन्सेटिभ इन्डेक्स पनि १८.२३ अङ्कले उकालो लागेर ५०१.९१ को विन्दुमा पुगेर रोकिएको छ। समग्रमा साताको पहिलो दिनको नेप्से ३.४१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ३.७६ प्रतिशतले उकालो लागेको छ।

नेप्से सूचक ३० महिनायताकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ। यसअघि मार्केट २०७८ माघ ३ गते २८७६.७४ विन्दुमा बन्द भएको थियो। उकालो लाग्ने क्रममा रहेको सेयर बजार अघिल्लो साताको अन्तिम दिन भने सामान्य अङ्कले उकालो लागेर बन्द भएको थियो। साताको अन्तिम दिन सेयर बजारमापक नेप्से परिसूचक छ अङ्कले उकालो लागेको थियो भने कारोबार रकम २० अर्बमाथि लागेको थियो।

सेयर बजारमा आइतबार अहिलेसम्मको उच्च भएको कारोबार भएको हो। आइतबार ३३० कम्पनीको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर दुई लाख ७५ हजार २०७ पटक खरिदबिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ। जुन अघिल्लो दिनको तुलनामा पाँच अर्ब ७० करोड रुपियाँले बढी हो।

आइतबारको सेयर बजारमा जीवन बिमा, लघुवित्त, लगानी र जलविद्युत् उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लागेको छ। साताको पहिलो दिन जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक ४.५३ प्रतिशतले उकालो लागेको छ।

यस्तै लघुवित्त ४.३९ प्रतिशत, लगानी ४.१२ प्रतिशत, जलविद्युत् ३.९३ प्रतिशत, फाइनान्स ३.४९ प्रतिशत, निर्जीवन बिमा ३.४५ प्रतिशत, बैङ्किङ ३.३५ प्रतिशत, व्यापार २.९१ प्रतिशत, विकास बैङ्क २.५८ प्रतिशत, अन्य २.५१ प्रतिशतले उकालो लागेको छ।

राष्ट्र बैङ्कले दुई साताअगाडि सार्वजनिक गरेको चालु आव २०८१/८२ को मौद्रिक नीति लचिलो र सेयर बजारमैत्री आएपछि लगानीकर्ताको मनोबल बढिरहेको छ। सेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैङ्कले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीलाई सहमति प्रदान गरिसकेको छ।