आरोहणका लागि हिमाल थपिँदै
2024-08-16 16:08:14cri
Share with:

नेपाल सरकारले आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ। पर्यटन विभागका अनुसार पाँच हजार आठ सय मिटर उचाइमाथिका थप ५७ वटा हिमाल आरोहणका लागि खोल्ने प्रक्रिया अघि बढाइएको हो।

विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिनुभयो। “मन्त्रीपरिषद्बाट स्वीकृति पाएलगत्तै नयाँ हिमाल आरोहणको बाटो खुला हुन्छ,” उहाँले भन्नुभयो।

पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रम अनुसार नेपाल–भारत तथा नेपाल–चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

निर्देशक गुरुङका अनुसार आरोहणका लागि खुला गर्न लागिएका हिमालबारे कुनै पनि गाउँपालिकाबाट दाबी विरोध नआएकाले आरोहणलाई अझै व्यवस्थित बनाउने विषयमा छलफल जारी रहेको छ। नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेको उहाँले जानकारी दिनुभयो।

आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका रहेका छन्। हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरे पनि सबैमा आरोहण हुन सकेको छैन।

हाल पर्यटन विभाग र पर्वतारोहण सङ्घले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन्। सरकारले सङ्घलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ। यसमा पनि छ हजार पाँच सयभन्दा कम उचाइ भएका हिमाल पर्दछन्। बाँकी हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुँदै आएको गोरखापत्र अनलाइनले लेखेको छ।