राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ। सरकारले आर्थिक वर्ष ०६८/६९ बाट सुरु गर्ने भनिएको आयोजना ०७१/०७२ बाट मात्र सुरु गरेको थियो। सुरुमा ०७९/८० सम्म सम्पन्न गर्ने गरी थालिएको आयोजनाको म्याद आर्थिक वर्ष ०८४/८५ सम्मका लागि थपेको थियो।
कोरोना महामारी, ठेक्का सम्झौतामा ढिलाइ, कामदार अभाव, समयमै अख्तियारी नआउनु, बाढी, सरकारी निकायबीच विभिन्न काममा समन्वयमा ढिलाइलगायत कारण आयोजनाको काममा ढिलाइ भएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले बताउनुभएको कान्तिपुर दैनिकले लेखेको छ।
अहिले दोस्रो चरणको काम ५० र तेस्रो चरणको ४० प्रतिशत काम सकिएको छ। पहिलो चरणमा टनेल बोरिङ मेसिनबाट १२.२० किलोमिटर टनेल निर्माणको काम सम्पन्न गरिसकेको आयोजनामा दोस्रो चरणअन्तर्गत बाँध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल जडान एवं निर्माणलगायत काम भइरहेका छन्। अहिले सुर्खेतको चिप्लेमा हेडवर्क्स निर्माणको काम जारी रहेको सिनियर डिभिजनल इन्जिनियर अधिकारीले बताउनुभयो। यसमा ६ वटा वेमध्ये २ वटा वे निर्माणको काम अन्तिम चरणमा छ । ‘अरू ४ वटा वे निर्माणका लागि नदी फर्काउने तयारी भइरहेको छ,’ उहाँले भन्नभुयो, ‘पावरहाउस निर्माणस्थल हात्तीखोलामा स्लोप प्रोटेक्सनको काम अन्तिम चरणमा पुगेको छ, त्यस्तै फाउन्डेसन, कोफर्ड ड्याम, एंकर ब्लक निर्माणलगायतको काम पनि धमाधम गरिरहेका छौं।’
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र झन्डै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित आयोजनाको काम भइरहेको हो। आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ। कोरोनाका कारण झन्डै २ वर्ष आयोजनाको काम प्रभावित हुन पुग्यो। ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको आयोजनामा झन्डै ५७ वित्तीय प्रगति हासिल भएको छ। यसमध्ये अहिलेसम्म १५ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ।
यो वर्ष १ अर्ब ५९ करोड रुपैयाँ विनियोजन भएकामा माघ मसान्तसम्म ८४ करोड ४० लाख रुपैयाँ खर्च भएको सिनियर डिभिजनल इन्जिनियर अधिकारीले जानकारी दिनुभयो। अबको तीन वर्षभित्र सक्ने गरी कामलाई तीव्रता दिइएको छ। अहिले आयोजनामा झन्डै एक सय कामदारले काम गरिरहेका छन्। दोस्रो चरणको कामको जिम्मा रमण/ग्वाङ्डोन जेभीले लिएको छ।
आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सरकारको योजना छ। तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढाइने आयोजनाले जनाएको छ। भेरीको पानी बबई नदीमा खसाल्नका लागि चिप्लेमा बाँध निर्माणको काम भइरहेको हो। यहाँ १ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।
कर्णाली प्रदेशको सबैभन्दा ठूलो र संघीय सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएको समयमा जसरी पनि सम्पन्न हुनुपर्ने नागरिक अगुवा नरेन्द्र केसीको भनाइ छ। आयोजनाको काम तोकिएकै समयमा सक्ने गरी प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय भइरहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभयो।
आयोजनामा तेस्रो चरणमा एचएम र ईएमसँगसँगै अन्य विद्युतीय काम पनि हुनेछन्। आयोजना सञ्चालनका क्रममा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्ने आयोजनाको अनुमान छ। यसका लागि झन्डै ८ हेक्टर जग्गाको मुआब्जा वितरण गरिसकेको छ भने झन्डै साढे १० हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन गरी प्रमाणीकरणको काम गरिरहेको आयोजनाले जनाएको छ।