इक्वेट्रोल्यर गिनीकी युवती नातीको चीन बसाइको कथा-१
2024-08-19 09:36:35cri
Share with:

इक्वेट्रोल्यर गिनीबाट आएकी युवती नातीले सानैदेखि चिनियाँ संस्कृतिप्रति विशेष रुचि राख्थिन्। हाल, उनी चीनको चोङ्नान विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरिरहेकी छिन्। चीनमा नातीको अध्ययन यात्रा व्यक्तिगत विकास मात्रै नभइ चीन र अफ्रिकाबीचको मैत्रीपूर्ण सहयोगको प्रतिनिधित्व पनि हो।

 

“म सानैदेखि विभिन्न संस्कृति र भाषामा रुचि राख्थेँ। चीनमा अध्ययन गर्न आउनु मेरो सधैँको सपना थियो। मलाई विश्वास छ कि चिनियाँ भाषा सिकेर विभिन्न संस्कृतिहरू बीचको आदान-प्रदान र बुझाइलाई सुदृढ गर्न सकिन्छ, विशेषगरी मेरो देश इक्वेट्रोल्यर गिनी र चीनबीचको आदानप्रदान।”

 

नातीको चीनमा अध्ययन गर्ने सपना उनको बाल्यकालमा रोपिएको एउटा बीउबाट उत्पन्न भएको हो। जब उनी सानी थिइन्, उनकी आमा धेरै पटक चीन भ्रमणमा जानुहुन्थ्यो। आमा फर्कँदा चीनमा निर्मित धेरै सामानहरू मात्र होइन, चीनका बारेमा धेरै जीवन्त वर्णनहरू पनि ल्याउनुहुन्थ्यो।

 

“म अझै सम्झन्छु, जब म सानी थिएँ, मेरी आमा चीन भ्रमणमा जानु हुन्थ्यो। फर्किँदा उहाँले आफ्नो अनुभव सुनाउनु हुन्थ्यो, उहाँले भन्नुभएको थियो कि चिनियाँहरू धेरै मैत्रीपूर्ण छन्, चीन एक मैत्रीपूर्ण देश हो र चीनका धेरै समृद्ध संस्कृतिहरु छन्। उहाँले प्रायः चिनियाँ परम्परागत उपहारहरू ल्याउनु हुन्थ्यो, जसले गर्दा चिनियाँ संस्कृतिप्रति मेरो चासो बढ्दै गयो।”

 

लामो समयको तयारी र आवेदन प्रक्रियापछि, सन् २०२० मा, नातीले चोङ्नान विश्वविद्यालयबाट भर्ना पत्र प्राप्त गरिन्। अन्ततः उनको सपना पूरा भयो र उनले चीनमा आएर सफ्टवेयर इन्जिनियरिङ अध्ययन गर्न थालिन्।

 

“जब म चीन आएँ, तब मैले तुरुन्तै चीनको प्रविधि विकसित भएको महसुस गरेँ, यसले मेरो प्राविधिक चासोमा थप उर्जा भरेको थियो। मैले थाहा पाएँ कि हामीले कोडिङमार्फत धेरै रोचक परियोजनाहरू गर्न सक्छौँ, यसले मलाई धेरै प्रभाव पार्‍यो र मैले यसलाई मेरो विषयको रूपमा लिने निर्णय गरेँ। म एक कम्प्युटर इन्जिनियर बन्न चाहन्छु। अहिले म जटिल प्राविधिक समस्याहरू समाधान गर्न सिक्दैछु र मेरो समग्र क्षमता सुधार भएको छ। मैले सफ्टवेयर विकासको धेरै ज्ञान प्राप्त गरेँ र अहिले मैले कम्प्युटर विज्ञान र प्रविधि सम्बन्धी धेरै परियोजनाहरू गर्न सक्छु।”