चालु आर्थिक वर्षको पहिलो महिना घरजग्गा कारोबारमा गत वर्षको तुलनामा सुधार देखिएको छ। चालु आर्थिक वर्ष (आव) २०८१/८२ साउनमा घरजग्गा कारोबार र त्यसबाट प्राप्त हुने मालपोत कर (राजस्व) दुवैमा सुधार देखिएको अनलाइन खबरले लेखेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ। गत आव २०८०/८१ साउनमा ३९ हजार २ सय ६३ लिखत पारित भएकोमा चालु आव ११.६४ प्रतिशतले बढेको हो।
गत आव अन्तिम महिना असारको तुलनामा भने साउनमा घरजग्गा कारोबार घटेको देखिन्छ। असारमा ४४ हजार ५ सय ६९ लिखत पारित भएको थियो। घरजग्गा लिखत पारितसँगै मालपोत कर (राजस्व) पनि बढेको छ। चालु आव साउनमा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ। जुन गत आव सोही अवधिको तुलनामा ३१.७७ प्रतिशतले धेरै हो।
साउन २०८० मा घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख बराबर राजस्व प्राप्त भएको थियो। गत वर्षको तुलनामा राजस्वमा उल्लेख्य सुधार देखिए पनि गत असारको तुलनामा भने घटेको छ। गत असारमा ५ अर्ब २ करोड ३६ लाख राजस्व संकलन भएको थियो।
चालु आव मात्रै नभएर गत आवमा पनि आवको पहिलो महिनामा अघिल्लो महिनाको दाँजोमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व उल्लेख्य घटेको देखिन्छ। असार २०८० मा ४ अर्ब २७ करोड ८३ लाख राजस्व संकलन भएकोमा साउन २०८० मा २ अर्ब ९१ करोड ४ लाख मात्रै राजस्व संकलन भएको थियो।
चालु आव साउनमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर छ। त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर प्राप्त भएको छ। २६ करोड ६८ लाख ६९ हजार सेवाकर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार राजस्व छुट दिइएको विभागको तथ्यांक छ।
चालु आव साउनमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर छ। त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर प्राप्त भएको छ। २६ करोड ६८ लाख ६९ हजार सेवा कर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार रुपैयाँ राजस्व छुट दिइएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।
विगतका महिना साउनमा पनि मधेशमा नयाँ सहरका रूपमा विकास हुँदै गरेको क्षेत्र अगाडि देखिएका छन्। साउनमा सबैभन्दा धेरै लिखत पारित इनरुवा पालपोत सुनसरीबाट भएको छ। उक्त कार्यालयबाट १ हजार ९ सय ४ लिखत पारित भएको विभागको तथ्यांक छ। यस्तै भूमि सुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीबाट १ हजार ६ सय ८, बेलबारी मालपोत कार्यालय मोरङबाट १ हजार ५ सय २०, भद्रपुर मालपोत झापाबाट १ हजार ४ सय ६५ र जनकपुरधाम मालपोत कार्यालय धनुषाबाट १ हजार २ सय १५ लिखत पारित भएका छन्।
मलंगवा मालपोत कार्यालय सर्लाहीबाट १ हजार १९ लिखत पारित भएको छ। धनगढी मालपोत कैलालीबाट ९ सय ७० र सिरहा मालपोत सिरहाबाट ९ सय ६२ लिखत पारित भएको हो। घरजग्गा व्यवसायीहरू पनि तुलनात्मक रूपमा मूल्य कम भएका र सहरका रूपमा विकास हुँदै गरेका ठाउँमा जग्गा कारोबार उच्च रहेको बताउँछन्।
राजस्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत अग्रस्थानमा छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार लगनखेल मालपोत ललितपुरबाट साउनमा ३४ करोड २७ लाख ४२ हजार राजस्व संकलन भएको छ।
यस्तै डिल्लीबजार मालपोत काठमाडौंबाट २९ करोड ३९ लाख ६७ हजार राजस्व संकलन भएको छ। भक्तपुर मालपोत भक्तपुरबाट २३ करोड ३७ लाख २२ हजार, चाबहिल मालपोत काठमाडौंबाट २२ करोड ४२ लाख ७७ हजार, कलंकी मालपोत काठमाडौंबाट २२ करोड २७ लाख ८ हजार राजस्व संकलन भएको छ।
उपत्यकापछि सिमरा मालपोत बाराबाट १७ करोड ३२ लाख ५७ हजार, कास्की मालपोतबाट १४ करोड ६९ लाख ८६ हजार र मालपोत कार्यालय चितवनबाट ११ करोड ७२ लाख ६४ हजार राजस्व संकलन भएको हो।