इलामका किसान ‘ड्रागनफ्रुट’ खेतीमा आकर्षित
2024-08-21 16:33:27CRI
Share with:

इलाममा किसान ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन्। मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन्। इलामको चुलाचुली गाउँपालिका३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्नु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। 

एक बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उनले फल बेचेर ८ लाख र बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गर्नु भएको हो। ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु’, उहाँले भन्नुभयो।

उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन्। तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गर्नु भएका उहाँले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोप्नु भएको छ। आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या नभएको उहाँको भनाइ छ।

‘उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्’, उहाँले भन्नुभयो, ‘बगानबाट प्रतिकलोग्राम दुई सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।’ उत्पादित बिरुवा गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेको उहाँ बताउनुहुन्छ।

सुरुमा परीक्षणका लागि केही बिरुवा रोप्नु भएका उहाँले त्यसैलाई नै व्यावसायिक रुपमा सुरु गर्नु भएको हो। अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ।

राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थाल्नु भएको छ। उहाँले ६ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोप्नु भएको छ। उहाँले ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गर्नु भएको हो।

‘मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको छु’, उहाँले भन्नुभयो, ‘अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुने रहेछ।’ ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ।

एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूले बताउनुभयो। 

ड्रागनफ्रुटका लागि उष्ण क्षेत्र उत्तम मानिन्छ। यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुद्री सतहबाट एक हजार पाँच सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ।

यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ। नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्यपहाडी क्षेत्रमा खेती गर्न सकिने कृषिविज्ञहरु बताउँछन्।