नेपालमा चलु वर्ष अहिलेसम्म ९८.५ प्रतिशत रोपाइँ सम्पन्न
2024-08-24 15:53:21CRI
Share with:

नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ। गत वर्षभन्दा चार प्रतिशत बढी रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। गत वर्ष भदौ ७ गतेसम्म ९४.६ प्रतिशत रोपाइँ भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ  भएको छ। कोशी प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेश र कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यस्तै लुम्बिनी प्रदेशमा ९८.३ र गण्डकी प्रदेशमा ९७.८ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी गराउनुभयो। सबैभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ। 

कृषि मन्त्रालयका अनुसार मधेश प्रदेशमा ९७.३ प्रतिशत रोपाइँ भएको छ तर अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी रोपाइँ भएको हो। गत वर्ष यसबेलासम्म ८९.२ प्रतिशत मात्र रोपाइँ भएको थियो। मधेश प्रदेशमा तीन लाख ८६ हजार १५० हेक्टर क्षेत्रफलमध्ये तीन लाख ७५ हजार ६१४ हेक्टरमा रोपाइँ भएको छ। यस पटक रोपाइँमा वृद्धि भएका कारण उत्पादनमा पनि वृद्धि हुने कृषि मन्त्रालयले जनाएको छ।