दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को अध्यक्ष मुलुक नेपालले न्युयोर्कमा अर्को महिना हुने ७९ औं संयुक्त राष्ट्रसंघ (यूएन) महासभाको दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक गर्न प्रस्ताव गरेको छ । महासभा सेप्टेम्बर १० मा सुरु हुँदै छ ।
महासभाको उच्चस्तरीय छलफल भने सेप्टेम्बर २४ देखि २९ सम्म चल्नेछ । उक्त अवसरमा अफगानिस्तानबाहेक सार्कका राष्ट्र प्रमुख वा सरकार प्रमुखका साथै सबै देशका परराष्ट्रमन्त्री सहभागी हुँदै छन्। सार्कमा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेश सदस्य छन् । अफगानिस्तान सदस्य भए पनि त्यहाँ सन् २०२१ मा आएको तालिवान नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले हालसम्म मान्यता दिइसकेको छैन । नेपालले सार्क सचिवालयमार्फत महासभाका दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठकका लागि सेप्टेम्बर २६ (असोज १०) मा प्रस्ताव गरेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको कान्तिपुर अनलाइनले लेखेको छ ।
भारत र पाकिस्तानबीचको क्षेत्रीय द्वन्द्व न्युयोर्कमा पनि उस्तै रहँदा सन् २०२० पछि महासभाका दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक हुन सकेको छैन । सन् २०२० मा भने कोरोना महामारीका कारण भर्चुअल बैठक भएको थियो । त्यसबेला तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकको नेतृत्व गरेका थिए । बैठकमा भारत र पाकिस्तानका प्रतिनिधि सहभागी थिए । त्यसपछि नारायण खड्का र एनपी साउद परराष्ट्रमन्त्री भए । दुवैले महासभाको दौरान साइडलाइन बैठक गर्न खोजे तर भारत र पाकिस्तानबीच कुरा नमिल्दा अघि बढ्न सकेन ।
यस पटक परराष्ट्रमन्त्री आरजु राणा देउवाले बैठकका लागि प्रस्ताव पठाएकी छन् । तर सदस्य देशहरूले हालसम्म प्रतिक्रिया पठाइसकेका छैनन् । ‘विशेषगरी भारत र पाकिस्तानको जवाफका आधारमा बैठक हुन्छ वा हुन्न भन्ने थाहा हुन्छ,’ परराष्ट्रका एक अधिकारीले भने । सन् २०१४ देखि अर्को सार्क शिखर सम्मेलन नभएकाले नेपाल अध्यक्ष रहँदै आएको छ । अध्यक्षले नै सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक राख्ने परम्परा छ । नेपालले लगातार सार्क मन्त्रीस्तरीय बैठक गरेर भारत र पाकिस्तानबीच विश्वासको वातावरण बनाउन खोजिरहेको छ । ‘हामी आफ्नोतर्फ र सार्क सचिवालयमार्फत साइडलाइन बैठक गर्न प्रयासरत छौं,’ परराष्ट्रका ती अधिकारीले भने ।
सन् २०२१ को ७६ औं महासभामा तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । भारत र पाकिस्तानको विवाद र अफगानिस्तानमा तालिवान सरकार आएपछि महासभामा तालिवान र पुरानै सरकारका प्रतिनिधि सहभागी हुँदा उक्त वर्ष सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक हुन सकेन । ७७ औं महासभामा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वको टोली सहभागी भएको थियो । ७८ औं महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली टोलीको नेतृत्व गरेका थिए । परराष्ट्रमन्त्री एनपी साउद थिए । यी पछिल्ला तीन महासभामा सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक हुन सकेन ।