तातोपानी नाकामा महिना दिनअघि चिनियाँ सहयोगमा जडान तथा परीक्षण भइसकेको भेहिकल स्क्यानर मेसिन जनशक्ति नहुँदा चल्न सकेका छैनन्। प्राविधिक ज्ञान नहुँदा ती मेसिन त्यतिकै थन्किने जोखिम बढेको नयाँ पत्रिका अनलाइनले लेखेको छ।
चीनले गत २२ माघमा करिब ६० करोड रुपैयाँबराबर मूल्य पर्ने दुईवटा भेहिकल र लगेज स्क्यानर नेपाललाई हस्तान्तरण गरेको थियो । लगेज स्क्यानर नाकामा राखिएको छ भने भेहिकल स्क्यानर सुक्खा बन्दरगाहमा जडान गरिएको छ । भन्सार प्रक्रिया पूरा गरेपछि चिनियाँ पक्षले ती मेसिनरी जडान गरिदिएर सञ्चालनको सामान्य अभ्याससमेत गराइदिएका थिए । तर, दक्ष जनशक्ति नहुँदा अहिले ती मेसिन प्रयोगमा आउन सकेका छैनन् ।
‘लगेज स्क्यानरलाई अहिलेको जडित बिजुलीको भोल्टेज कम भएर काम गरेन, विद्युत्को अनियमितता र कम भोल्टेज चल्न सकेको छैन,’ एकजना अधिकारीले भने, ‘भेहिकल स्क्यानर भने चलाउने जनशक्ति नै छैनन्, तालिमप्राप्त जनशक्ति नहुँदा स्क्यानर प्रयोगमा ल्याउन सकिएको छैन ।’ यदि अविलम्ब जनशक्तिको व्यवस्थापन नगर्ने हो भने ती स्क्यानर त्यसै थन्किने जोखिम देखिएको उनले बताए ।
यस विषयमा जानकारी माग्दा तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले लगेज तथा भेहिकल स्क्यानर जडान तथा सञ्चालनका प्रक्रियाहरू चलिरहेको दाबी गर्नुभयो। ‘हस्तान्तरण भएको अलि अघि नै हो, जडान तथा सञ्चालनको प्रक्रिया भने चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयको घोषणाअनुसार यी मेसिनहरू छिट्टै सञ्चालनमा अउनेछन् ।’ उहाँले ती मेसिनरी सञ्चालनका लागि भन्सार विभागमार्फत अर्थ मन्त्रालय र चिनियाँ पक्षसँग समन्वय भइरहेको बताउनुभयो।
‘उहाँ (चिनियाँ पक्ष)ले स्क्यानर सञ्चालनका लागि आइडिया दिनुभएको छ, तर त्यो मात्रै पर्याप्त छैन, एकजना मेकानिकल वा इलेक्ट्रिकल इन्जिनियर नै चाहिन्छजस्तो लाग्छ, त्यसको दरबन्दीका लागि समेत विभागमार्फत अर्थ मन्त्रालयमा जानकारी गराएका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यस्तै, यो मेसिन सञ्चालनका लागि आवश्यक तालिमलगायत सहजीकरणका लागि चिनियाँ पक्षसँग समेत छलफल भइरहेको छ ।’ तोकिएको समयमा सञ्चालनमा ल्याउन भन्सार कार्यालय तत्पर रहेको उहाँले दाबी गर्नुभयो।
भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले मेसिनहरू जडान भइसकेको र सञ्चालनको तयारी भइरहेको बताउनुभयो। ‘चिनियाँ पक्षले सामान्य तालिम दिनुभएको छ, हामीले थप प्राविधिक सहयोगका लागि आग्रह गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘आन्तरिक रूपमै जनशक्ति तयार गर्ने तथा व्यवस्थापन गर्ने कार्यसमेत भएकाले तोकिएको समयभित्र स्क्यानर मेसिन सञ्चालनमा आइसक्नेछ ।’ उहाँले दीर्घकालीन रूपमै समस्या समाधानका लागि जनशक्ति उत्पादन व्यवस्थापनका लागि तातोपानी भन्सार कार्यालयबाट माग आएको र सोहीअनुसार समन्वयको काम भइरहेको बताउनुभयो।
विगतमा पनि चीनले नेपाललाई अनुदानमा भेहिकल स्क्यानर मेसिन दिएको थियो, तर सञ्चालनमा आउन सकेका थिएनन् । दुई दशकअघि चीन सरकारबाट अनुदानमा पाएका भन्सारमा मालवस्तु तथा कन्टेनर स्क्यायन गर्ने दुई ठूला स्क्यानर (एक्स–रे मेसिन) प्रयोगमै नआई काम नलाग्ने भएका थिए ।
चीनले २०६० सालतिर नेपाललाई दुईवटा स्क्यानर मेसिन दिएको थियो । कन्टेनरसमेत स्क्यान गर्न सकिने मेसिन (भेहिलक स्क्यानर)लाई सुक्खा बन्दरगाहमा राखिएको थियो । मालवस्तु स्क्यान गर्ने अर्को ठूलो आकारको स्क्यानर मेसिन (एक्स–रे) भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थियो । सुरुमा चीनका प्राविधिक जनशक्तिको सहयोगमा केही समय ती स्क्यानर सञ्चालन गरिएका थिए । तर, चिनियाँ प्राविधिक फर्किएपछि नेपालीले ती मेसिनरी चलाउन सकेनन् ।
यसपटक पनि चीनले तातोपानी नाकाका लागि भेहिकल स्क्यानर दिएको छ, तर चलाउने जनशक्ति छैनन् । जनशक्ति अभावकै कारण मेसिनरी विगतमा झैँ प्रयोगविहीन भएर बिग्रने जोखिम रहेको कार्यालयकै कर्मचारीहरू बताउँछन् । तर, विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने विगतको समस्या यसपटक दोहोरिन नदिने गरी काम भइरहेको दाबी गर्नुभयो। ‘त्यसवेला जनशक्तिको अभाव, उच्च लागत, लोडसेडिङलगायत कारण ती स्क्यानर प्रयोग गर्न सकिएको थिएन,’ उहाँले भन्नुभयो, ‘यसपटक पनि त्यस्तो समस्या दोहोरिएला भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो, तर विभागले मन्त्रालयसँग समन्वय गरेर दीर्घकालीन रूपमै समस्या समाधानका लागि प्राविधिक तथा जनशक्ति विकास र व्यवस्थापनको काम गरिरहेको छ ।’