पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आर्थिक वर्ष २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ। कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पाँच अर्बले लक्ष्य घटाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।
भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ। सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आर्थिक वर्षमा रु ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताउनुभयो।
“कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो। आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ म रु पाँच अर्बभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन भने सकेन।”
भन्सार विभागले आर्थिक वर्ष २०८०/८१ मा कार्यालयलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो।
विभागले कार्यालयलाई आर्थिक वर्ष २०७९÷८० मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो। तर कार्यालयले सो आर्थिक वर्षमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व सङ्कलन गरेको थियो।