काठमाडौंमा सवारीको महामेला, २३ ब्रान्डका नयाँ गाडी
2024-08-27 15:36:28CRI
Share with:

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ मा २३ ब्रान्डले नयाँ उत्पादन (प्रडक्ट) सार्वजनिक गर्ने भएका छन् । मंगलबार सुरु हुने अटो सोमा १६ वटा चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्न लागेका हुन् । काठमाडौं भृकुटीमण्डपमा आयोजना हुने अटो सो यही भदौ १६ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा २३ वटा चारपांग्रे ब्रान्डले नेपालको सडकमा नकुदेका र नदेखिएका नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिरहेको नाडा अटो सोका संयोजक अनुप बरालले बताउनुभयो।

सोमा अटोमोबाइल उद्योगभित्रको चारपांग्रे, दुईपांग्रे, सेमी कमर्सियल भेहिकल तथा कमर्सियल भेहिकल र अटो कम्पोनेन्टमा टायर, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट, स्पेयर पार्ट्सलगायतको प्रदर्शनी हुने बरालले जानकारी दिनुभयो। यसपालिको नाडा अटो सोमा सबैभन्दा धेरै विद्युतीय गाडीको प्रदर्शनी हुने बताइएको छ । चीनमा उत्पादित २२ लाखदेखि एक करोड रुपैयाँभन्दा माथिसम्मका विद्युतीय गाडी प्रदर्शनीमा रहने बरालको भनाइ छ ।

नाडा अटो सोमा लाइट कमर्सियलका १३ स्टल रहनेछन् । यसैगरी बैंक, बिमा र डिजिटल वालेटका कम्पनीहरूका ११ वटा स्टल रहनेछन् । हरेक वर्ष प्रदर्शनीमा रहँदै आएको अटो सोमा यसपालि भने विविधता रहेको आयोजकले जनाएको छ । प्रदर्शनीको विशेषतामा नेपालमै उत्पादित टायर, ब्याट्री र लुब्रिकेन्ट्सबारे जानकारी लिन सकिन्छ । नेपालमै उत्पादन हुने सवारी कम्पोनेन्टबारे अध्ययन गर्न र हेर्न नाडा अटो सो राम्रो अवसर भएको बराल सुनाउनुहुन्छ। प्रदर्शनीमा अटो कम्पोनेन्टका ३३ वटा स्टल रहनेछन् । जसमा ५–६ वटा स्टलले नेपालमै उत्पादन गरिएका ब्याट्री, टायर, लुब्रिकेन्ट्सबारे प्रदर्शनी गर्ने उहाँको भनाइ छ । कान्तिपुर अनलाइनका अनुसार दुईपांग्रे सवारीका १९ ब्रान्ड प्रदर्शनीमा सहभागी छन् । योसँगै नेपालमै एसेम्बल गरिएका दुईपांग्रे सवारीसाधन पनि प्रदर्शन हुनेछन् ।

सोमा टाटा, हुन्डाई, नेटा, स्काइवेल, आइवन, सेरेस, दोङफेङ, लिपमोटर, रिडारा, किया, सिट्रोन, एक्स–पङ, अवतार, जिकर, दिपल, न्यू ईभी, सुजुकी, बीवाईडी, ओमोडा एन्ड जेकु, एमजी, हेनरी भोल्ट्स, बीएडब्लू र महिन्द्रा ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्न लागेका हुन् । 

अटो सो विद्युतीय सवारीसाधनमय हुने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बताउनुभयो। अटो सोमा विभिन्न ब्रान्डका कम्पनीले विद्युतीय सवारीसाधनका साथै नयाँ ब्रान्डका कमर्सियल र सेमी कमर्सियल ब्रान्डका सवारी पनि सार्वजनिक हुने उप्रेतीले जनाउनुभयो। पहिलो पटक भारतबाट सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (एसआईएएम) संस्थाबाट २४ जना प्रतिनिधिले नेपालको अटोमोबाइललाई नजिकबाट नियाल्न आउने उहाँको भनाइ छ ।

यसपालिको अटो सोमा धेरै नयाँ ब्रान्डका नयाँ गाडी आउने भएकाले प्रदर्शनी विशेष रहेको नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा सुझाउनुहुन्छ। प्रदर्शनीमा आउने आगन्तुकले आफूलाई मन परेको दुईपांग्रे र चारपांग्रे गरी कुनै पनि सवारी बुकिङ गर्न सक्ने सुविधा भएको गोल्छाको भनाइ छ । यस किसिमको प्रदर्शनले ग्राहकको समय बचाउने, आफूलाई मन परेको सवारीमा राम्रोसँग बार्गेनिङ गर्ने अवसर र भविष्यमा सवारी किन्न इच्छुक ग्राहकलाई जानकारी लिने स्थान नाडाको अटो सो भएको उहाँले बताउनुभयो।

प्रदर्शनीमा ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले १३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् । टाटा ईभी प्रस्तुत नाडा अटो सो–२०२४ ले ६ दिनमा ७५ हजार आगन्तुकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ ।