पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन्। यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ। यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो। जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिएको अनलाइन खबरले लेखेको छ।
अगष्ट महिनामा भएको आगमन सन् २०१९ को भन्दा कम हो। त्यस समय यो महिनामा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएका थिए। नेपालले मनसुनमा लामो समयदेखि पर्यटक भित्राउन सकेको छैन।
खासगरी पूर्वाधार क्षेत्र तहसनहस हुँदा सडक र हवाई यातायात असुरक्षित बनेको छ। यसको नकारात्मक असर पर्यटन क्षेत्रमा समेत देखिएको छ। अगष्टको आगमन सन् २०२३ को तुलनामा भने ८.२९ प्रतिशतले बढेको छ। २०२३ अगष्टमा ६७ हजार १५३ जना पर्यटक आएका थिए। कोभिड महामारीले असर गरेको वर्ष सन् २०२० देखि भने आगमन खस्किएको थियो।
यो महिनामा भारतबाट मात्र २५ हजार ८३२ जना पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३.१ प्रतिशत कम हो। अघिल्लो वर्ष २६ हजार ६६५ जना भारतीय पर्यटक नेपाल आएका थिए। नेपालले स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्ने गरेको छैन।
यस वर्ष ठूला सडक र हवाई दुर्घटनाले नेपालको पर्यटकीय छवि बिग्रिएको छ। यसको प्रभाव पर्यटक आगमनमा समेत देखिएको छ। अगष्ट महिनामा श्रीलंकन पर्यटकको आगमन भने उल्लेख्य बढेको छ। यो महिनामा श्रीलंकाबाट ४ हजार ८५१ जना पर्यटक आएका छन्।
अघिल्लो वर्ष यस मुलुकबाट ३ हजार ८५८ जना पर्यटक आएको तथ्यांक छ। यो महिनामा कुल आगमनको दोस्रो स्थानमा चीन छ। चीनबाट ६ हजार ६१४ जना पर्यटक आएका छन्। गत वर्षको अगष्टमा ५ हजार २७ जना चिनियाँ पर्यटक आएका थिए। तेस्रो स्थानमा अमेरिका रहेको छ। यस मुलुकबाट ५ हजार ६१४ जना पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको यो महिनामा ४ हजार ६२९ जना नेपाल आएको देखिन्छ।