काठमाडौँमा अटो व्यापारको मेलाको रूपमा चिनिने नाडा अटो शो २०२४ सकिएपछि व्यवसायीहरू उत्साहित देखिएका छन्। लामो समयदेखि अटो मोबाइलको व्यापारमा सुधार नदेखिएको अवस्थामा अहिले आशा गर्न सक्ने अवस्था भएको उनीहरूको प्रतिक्रिया छ।
नाडा अटो शोमा अपेक्षाभन्दा माथि गाडी बुकिङ भएको कतिपय बिक्रेता कम्पनीहरूले जनाएका सेतोपाटी अनलाइनले लेखेको छ। बिक्रेतासामु माग बढेसँगै भन्सार यार्डमा लामो समयदेखि रोकिएका गाडीहरू पनि घट्न थालेको भन्सार अधिकारीहरूले बताएका छन्। भैरहवा, चोभार सुक्खा बन्दरगाह तथा रसुवा नाकाको यार्डमा भएका गाडीको संख्यामा कमी आएको उनीहरूको भनाइ छ।
विशेषगरी जिप, कार र भ्यानको आयात बढ्न थालेपछि सरकारको राजस्वमा समेत सुधार देखिएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
भदौ १५ दिनको अवधिमा रसुवा भन्सार नाकाबाट मात्रै २२७ वटा गाडी भित्रिएका छन्। जसमध्ये १४० वटा विद्युतीय जिप, कार र भ्यान पास भएको भन्सार अधिकृत रविन्द्रप्रसाद प्याकुरेले बताउनुभयो। त्यस्तै, ३७ वटा मिनिबस र ५० वटा माइक्रो बस आयात भएका छन्। यो तथ्यांकले सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेको देखिन्छ। गत वर्ष पनि यो समयमा जिप, कार भ्यानको आयात बढेको थियो।
तर, मिनिबस तथा माइक्रो बसहरूको आयात नगन्य रहेको भन्सार अधिकारीहरूले बताएका छन्। रसुवा भन्सार कार्यालयका तथ्यांक अधिकृत निर्मलराज कँडेलले विगतको तुलनामा यो पटक विद्युतीय गाडीको आयात बढ्ने आकलन गरेको बताउनुभयो।
भैरहवा भन्सार कार्यालयबाट पनि भदौ लागेसँगै गाडीको जाँच पास बढेको छ। प्रमुख भन्सार अधिकृत नारदप्रसाद गौतमका अनुसार भदौ १५ दिनको अवधिमा मात्रै १२७ वटा जिप, कार र भ्यान पास भएका छन्। साउनसहित पछिल्लो डेढ महिनाको अवधिमा मात्रै ४३९ वटा गाडी आयात भएका छन्।
विगत लामो समयदेखि पेट्रोलियम गाडीको आयात तथा बिक्री निरन्तर घटेको देखिएको थियो। तर, भैरहवाबाट पछिल्लो डेढ महिनामा पास भएका गाडीहरूमध्ये २६३ वटा पेट्रोलियम जिप कार र भ्यान आयात भएको छ। त्यस्तै, १७६ वटा विद्युतीय गाडी आयात भएको छ।
अधिकांश पेट्रोलियम गाडी लामो समयदेखि भन्सार यार्डमा राखिएकोमा अहिले पास गरिएको भन्सार अधिकारीहरूले बताएका छन्। पेट्रोलियम यस्ता जिप, कार र भ्यानमा २८० प्रतिशतसम्म राजस्व लाग्ने गरेको छ। यसो हुँदा बिक्रेता कम्पनीहरूले खरिदकर्ता भेटेपछि मात्रै भन्सारबाट छुटाउने गरेको देखिन्छ।
पछिल्लो डेढ महिनामा भैरहवा भन्सारबाट ८३ करोड ५३ लाख रूपैयाँ बराबरको पेट्रोलियम जिप, कार र भ्यानको आयात भएको छ। यी गाडीको आयातबाट भन्सार कार्यालयले ८३ करोड ३० लाख रूपैयाँभन्दा बढीको भन्सार महसुल संकलन गरेको छ।
यही भन्सार कार्यालयबाट ३४ करोड २६ लाख रूपैयाँ बराबरका विद्युतीय यस्ता गाडी आयात भएका छन्। जसबाट १८ करोड ५० लाख रूपैयाँको भन्सार महसुल संकलन भएको छ। यता काठमाडौंमा रहेको चोभार सुक्खा बन्दरगाहबाट पनि भदौ लागेपछि १४ वटा गाडी पास भएका छन्। गत वर्षबाट मात्रै जाँच पास गर्न सुरू गरिएको भन्सारबाट विगतमा एकै पटक यति धेरै गाडीको जाँच पास भएको थिएन।
चोभार सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत युक्तप्रसाद सुवेदीका अनुसार भदौ लागेपछि भन्सार यार्डमा नयाँ गाडी भने ल्याइएको छैन। विगतमा यार्डमा लिएर राखिएका गाडीबाट भदौमा १४ वटा जाँच पास गरिएको हो। अहिले यो भन्सार कार्यालयको यार्डमा १०० वटा गाडी रहेका छन्।
यहाँ विशेषगरी तेस्रो मुलुकबाट आयात गरिएको पेट्रोलियम गाडीहरू रहेका छन्।
लामो समयदेखि व्यापार खुम्चेको गुनासो गरिरहेका अटो व्यवसायीहरूले पनि नाडा सुरू भएसँगै आशा बढेको तर्क गरेका छन्। व्यवसायीहरूका अनुसार नाडा अटो शोका क्रममा नै करिब चार हजार गाडी बुकिङ गरिएको छ। अहिले बुकिङ गरेका गाडी दसैं अघिसम्म डेलिभरी हुने उनीहरूले बताएका छन्।
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपाली अटो क्षेत्र गहिरो संकटमा रहे पनि व्यवसायीहरूको अनुहारमा आशाको किरण देखिएको बताउनुभयो। नाडा अटो शोबाट यस वर्षको दसैंलाई स्वागत गर्दै व्यवसायीहरूको मनमा नयाँ आशाको सञ्चार गरेको प्रतिक्रिया चौधरीको छ।
भदौ ११ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको अटो शोमा यसपटक ८० प्रतिशत विद्युतीय गाडीका स्टलहरू राखेका थिए। उपभोक्तालाई आकर्षित गर्न नाडामा गाडी बुकिङ गर्ने ग्राहकलाई ६ लाखमसम्म छुटका योजना पनि ल्याइएको थियो।