हाम्रा केटाकेटीसँग पाण्डा साटौँ न
2024-09-10 10:18:44cri
Share with:

----------चेतनाथ आचार्य

‘त्यसो भए तिमीले छङ्तूमा ह्वा ह्वालाई पनि भेट्यौ होला। उनी सबैभन्दा सुन्दर छिन्। छङ्तू जाने सबैले उनलाई अवस्य एकपटक भेट्ने गर्छन्। गोलमोल शरीर अनि लचकदार हिँडाइ। उनको लजालु बानीले पर्यटकलाई तुरुन्तै मोहित बनाइहाल्छ। सबै पाहुनालाई सहजै आकर्षण गर्ने सक्ने क्षमता छ उनमा। उनलाई देखेर तिमी पनि भुतुक्कै भयौ होला है।’

अगष्ट १८ तारिख आइतबार साँझ बेइजिङको एक रेष्टुरेन्टमा खाना खाँदै गर्दा एक चिनियाँ सुन्दरीले अकस्मात मलाई निकै अप्ठ्यारो लाग्ने गरी सोधिन्। उनको भनाइले मलाई केही संकोचसँगै असहज पनि लाग्यो।

नेपालबाट आएका पत्रकारहरु मनोज दाहाल, अमृत तिमिल्सिना, कुलमणि ज्ञवालीसँगै शरद चौधरी, ओमप्रकाश गैरे र अमृत आचार्यलाई भेट्न गएको थिएँ म। उनीहरुका लागि दोभाषेको काम गर्ने युवती थिइन् लिज वाङ। उनको घर सछ्वान प्रान्तको छङ्तूमा रहेछ। 'मैले थुप्रैपटक छङ्तूको भ्रमण गरेको छु' भन्दा उनले उल्लिखित भनाइ राखेकी थिइन्।

मेरा लागि सबै चिनियाँ उस्तै लाग्छन् मैनबाट बनाइएका गुडिया जस्ता। चिम्सा आँखा, खिरिलो ज्यान, सिल्की कपाल अनि पहेँलो अनुहार। छङतूमा देखिएका हजारौँ चिनियाँ किशोरीमध्ये खै कुन चाहिँ थिई 'ह्वा ह्वा'। नाम पनि कस्तो अनौठो फेरि।

‘छङ्तूका सबै युवतीहरु सुन्दर नै छन्। त्यसमाथि चीनमा सबैभन्दा सुन्दर युवती हुने ठाउँ भनेर छङ्तूलाई भनिन्छ हैन र?’

कालोनिलो हुन खोजेको मेरो अनुहारको भाव लुकाउँदै साथीहरुका अगाडि मैले थोरै स्पष्टीकरण र केही नादानपन व्यक्त गरेँ।

लिज वाङले खितखिताउँदै भनिन् ‘हत्तेरिका मैले त पाण्डाको पो कुरा गरेकी’ केहीबेर मेरो अनुहारमा हेरेर हाँसोको फोहोरासँगै कराइन् ‘छङ्तूका केटीहरु राम्रा हुन्छन् तर ह्वा ह्वा जस्ती कसै गरे पनि हुन्नन् के।’

केही समय अगाडि लाजलाई लुकाउँदै गरेको मेरो मनोदशा अब चाहिँ लज्जावती झार झैँ एकै डल्लो भएको थियो। उनका कुरा थिए आग्राका, म बुझ्दै थिएँ गाग्राका।

तर, लिज वाङलाई भने केही फरक परेको थिएन्। उनी भन्दै थिइन् ‘अहिले चीनमा सबैभन्दा प्रसिद्ध पाण्डा मध्ये एक हुन् ह्वा ह्वा। यही पाण्डाको चित्रलाई गृष्मकालीन विश्व विश्वविद्यालय खेलकूद २०२१ को विज्ञापनमा देखाइएको थियो। ह्वा ह्वा आफ्नी जुम्ल्याहा बहिनी ह येसँगै छङ्तूको पाण्डा प्रजनन अनुसन्धान आधारमा बस्छिन्। तिनीहरूका बाबु मेइ ल्यान अमेरिकामा जन्मेका हुन्। अहिले उनीहरुका बाबु पनि त्यहीँ छन्।

लिज वाङको मुख्य काम विदेशीका लागि दोभाषे। त्यसमाथि उनी पाण्डाको राजधानी भनेर चिनिने चीनको सछ्वान प्रान्तको छङ्तूकी। पाण्डा सम्बन्धी उनको व्याख्याले हामीलाई आश्चर्यसँगै मन्त्रमुग्ध बनायो। चीनमा हरेक पाण्डाको मान्छेको जस्तै नाम र पहिचान हुन्छ भन्ने कुरा पनि उनले बताइन्।

पाण्डा चीनको पहिचान पनि हो। संसारभरका मान्छेलाई चीन भनिसक्दा के सम्झनुहुन्छ भनेर प्रश्न गर्ने हो भने उनीहरुले दिने जवाफमा ग्रेटवाल र पाण्डा छुट्दैन। चीनका हरेक जसो चिडियाखानामा पाण्डा राखिएकै हुन्छ। चिडियाखानाभित्र पाण्डाका लागि अलग्गै क्षेत्र हुन्छ र त्यहाँ प्रवेश गर्न अलग्गै टिकट किन्नुपर्छ।

बेइजिङ, शाङहाई र शच्याच्वाङको चिडियाखानामा जाँदा भए भरका मान्छेहरु पाण्डा भएतिर नै झुम्मिएको मैले देखेको छु। अझ सछ्वान प्रान्तको सदरमुकाम छङ्तूको पाण्डा प्रजनन अनुसन्धान आधारमा त मान्छेको समुद्र नै ओइरिँदो रहेछ। सन् २०२३ को जुन २५ तारिख त्यहाँ पुग्दा उखरमाउलो गर्मीमा पनि कहालीलाग्दो भिड थियो। शिशु पाण्डा राखिएको ठाउँको अवलोकन गर्नका लागि मात्र पनि एक घण्टाभन्दा बढी पालो कुर्नु पर्ने। वाह!पाण्डा क्रेज।

प्राकृतिक रुपमा पाण्डा चीनमा मात्र पाइने भएकाले यसमाथि चीनको एकाधिकार छ। चीनका लागि पाण्डा इज्जत, मान, सम्मान र प्रतिष्ठा मात्र नभई पर्यटक आकर्षित गर्ने बल्छी र आम्दानीको मुख्य स्रोत पनि हो। त्यति मात्र होइन अन्य देशसँगको सम्बन्ध सुधारमा पनि चीनले पाण्डालाई अगाडि सार्ने गरेको छ।

चीनको पाण्डा कूटनीति

चीनले पाण्डा कूटनीतिलाई निकै प्रभावकारी रुपमा अँगालेको छ। चीनले सन् १९४१ देखि १९८४ सम्म विभिन्न देशहरूलाई पाण्डा उपहार दिएको थियो। सन् १९८४ मा चीनले पाण्डालाई उपहार दिने नीति परिवर्तन गर्दै भाडामा दिने कानुन बनायो।

सन् १९४१ मा चियाङ काइसेककी श्रीमती सुङ मेइलिङले अमेरिकालाई पाण्डा उपहार दिएकी थिइन्। जापान विरुद्धको युद्धमा अमेरिकाले चियाङ काइसेकको कोमिङताङ सरकारलाई सहयोग गरेवापत उनले पाण्डा उपहार दिएकी थिइन्।

सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापना भएपछि पनि चीनले पाण्डा कूटनीतिलाई कायम राख्यो। सन् १९५७ देखि १९८३ सम्म चीनले विभिन्न ९ देशलाई २४ पाण्डा उपहार स्वरुप दियो। चीनबाट उपहारमा पाण्डा पाउने राष्ट्रहरूमा तत्कालीन सोभियत संघ, उत्तर कोरिया, अमेरिका, बेलायत, मेक्सिको लगायतका थिए।

सन् १९७२ मा चीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीन भ्रमण गर्दा अध्यक्ष माओले अमेरिकालाई एकजोडी पाण्डा उपहार दिएका थिए। त्यसको सट्टामा अमेरिकाले पनि चीनलाई एक जोडी कस्तुरी मृग उपहार दियो।

अमेरिकासँगको पाण्डा कूटनीतिले व्यापक सफलता प्राप्त गरेपछि सन् १९७४ मा ब्रिटिस प्रधानमन्त्री एडवर्ड हिथले चीन भ्रमण गर्दा पाण्डा उपहार मागे। चीनले बेलायतलाई दिएको त्यही एक जोडी पाण्डाको लोकप्रियताले गर्दा नै विश्व वन्य जन्तु कोषले आफ्नो लोगोमा पाण्डाको चित्र राखेको हो।

सन् २०१४ को मे २१ मा चीन मलेसिया कूटनीतिक सम्बन्धको ४० औँ वार्षिकोत्सवका अवसरमा चीनले एक जोडी पाण्डा मलेसियालाई दियो। सोही वर्षको मार्चमा क्वालालाम्पुरबाट बेइजिङ उडेको मलेसियन एयरलाइन्सको विमान बेपत्ता भएपछि चिसिएको सम्बन्धलाई पाण्डा उपहारबाट सुमधुर बनाउने काम गरेको थियो। त्यसैगरी सन् २०१८ मा फिनल्याण्डले एक-चीन नीतिलाई अनुमोदन गरेपछि चीनले एक जोडी पाण्डा फिनल्याण्डलाई दियो। सन् २०१७ मा चीन-इन्डोनेसिया कूटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसरमा इन्डोनेसियाले पनि एक जोडी पाण्डा प्राप्त गर्न सफल भयो। पाण्डा कूटनीति अनुसार नै चीनले सन् २०१९ मा रुसलाई र सन् २०२३ मा बेलायतलाई एकजोडी पाण्डा दियो।

चीनले पाण्डा कूटनीतिलाई निरन्तरता दिँदै आए पनि सन् १९८४ पछि पाण्डा उपहारमा नभई भाडामा दिन सुरु गरेको हो। तसर्थ सन् १९८४ पछि चीनले दिएका हरेक पाण्डाको निश्चित भाडा असुल्ने गरेको छ।

भाडामा पाण्डा

सन् १९८४ मा चीनले पाण्डालाई उपहार दिनुको सट्टा भाडामा दिने नीति ल्यायो। चीनले पहिलोपटक सन् १९८४ मा अमेरिकाको लस एन्जलसमा आयोजित ओलम्पिक खेलकूदमा दुई पाण्डाहरू प्रति महिना ५० हजार अमेरिकी डलर प्रति पान्डा भाडा लिने गरी प्रदान गर्यो। यो छोटो अवधिका लागि भाडामा दिने नीति थियो। सन् १९९१ मा पाण्डाको भाडा नीतिलाई परिमार्जन गर्दै दस वर्षसम्मका लागि पाण्डालाई भाडामा दिने अभ्यास सुरु गर्यो। यो अभ्यास अनुसार चीनले प्रति पाण्डा प्रति वर्ष १० लाख डलर भाडा लिने गर्छ। विदेशमा रहेको पाण्डाले बच्चा जन्माएमा त्यसको पूर्ण अधिकार चीनको हुनेछ र बच्चाको पनि उही दरमा भाडा लाग्ने गर्छ। दस वर्षपछि सम्बन्धित मुलुकले बच्चा सहित पाण्डा चीनलाई फिर्ता गर्नुपर्छ।

भाडामा पाण्डा लिने देशहरुलाई पनि त्यति सहज कहाँ छ र! पाण्डाको पालनपोषण र हेरचाह निकै महङ्गो पर्ने गर्छ। पाण्डाका लागि प्रिय खाद्यवस्तु बाँस हो। एउटा वयस्क पाण्डाले दैनिक सरदर ४० किलो बाँसको घाँस अथवा तामा खाने गर्छ। सन् २०११ मा सार्वजनिक भएको एउटा प्रतिवेदन अनुसार स्कटल्याण्डको एडिनबर्ग चिडियाघरमा एक जोडी पाण्डाका लागि बाँसको घाँस र तामा खुवाउनका लागि एक वर्षमा १ लाख ७ हजार अमेरिकी डलर खर्च भएको उल्लेख छ। पाण्डाको हेरचाह, औषधि उपचार, बासस्थान आदिको खर्च त कहाँ हो कहाँ।

चीनको सछ्वान प्रान्तमा सबैभन्दा बढी पाण्डा पाइन्छ। त्यही भएर पनि यो प्रान्तलाई पाण्डाको राजधानी पनि भनिन्छ। सछ्वान बाहेक चीनका पल्लो शान्षी र कान्सु प्रान्तमा पनि पाण्डा पाइन्छ। यी तीनवटा प्रान्तका घना जङ्गलमा प्राकृतिक रुपमा रहेका पाण्डाको सङ्ख्या १८६४ रहेको छ भने चिडियाखानामा संरक्षण गरेर राखिएका पाण्डाको थप सङ्ख्या ६ सय रहेको छ।

चीनको सछ्वान प्रान्तको छङ्तू पाण्डा प्रजनन आधारमा पाण्डा हुर्काउन त्यहाँका कर्मचारीको मिहिनेत थाहा पाउँदा मात्र पनि अचम्म लाग्छ। पाण्डा आफैँ लजालु स्वाभावको हुन्छ। हेरचाह गर्ने मान्छेसँग रत्तियोस् भनेर त्यहाँका कर्मचारीले पाण्डाको पिसाबलाई ड्रममा भेला गर्छन्। त्यो पिसाबमा पाण्डाको आकृति जस्तै कालो र सेतो रङको कपडालाई चोब्छन् र रेखदेख गर्ने मान्छेले लगाएर पाण्डाको छेउछाउमा जाने गर्छन्। यसो गर्दा पाण्डाले मान्छेलाई पनि पाण्डा जस्तै मानेर रत्तिन्छ र उसको हेरचाह गर्न सहज हुन्छ।

पाण्डा राखेपछि संसारभरका लाखौँ प्रशंसकहरू चिडियाखानामा आउँछन्। यसले चिडियाखानाको आम्दानीमा वृद्धि भए पनि पाण्डाको प्राकृतिक वातावरणलाई भने बिथोल्ने गर्दछ। यसै पनि पाण्डा निकै लजालु र प्रजननका लागि सहबासमा त्यति जाँगर नदेखाउने खालको जनावर हो। आमाको शारीरिक बनोट अनुसार पाण्डाको बच्चा अत्यन्त सानो जन्मन्छ। स्तनधारी जीवमा सबैभन्दा सानो बच्चा जन्माउने प्राणी हो पाण्डा। जन्मने बित्तिकै शिशु पाण्डाको वजन ९० देखि १३० ग्रामको मात्र हुन्छ। आमाको शरीरसँग तुलना गर्ने हो भने पाण्डाको बच्चा ९०० भागको एक भाग मात्र हुन्छ। प्रजननमा कम रुचि राख्ने, एक पटकमा प्राय एउटा मात्र बच्चा जन्मने, जन्मिएको बच्चा बचाउन पनि निकै कठिन हुने आदि कारणले गर्दा पाण्डाको सङ्ख्या निकै कम रहेको मानिन्छ।

कोभिड महामारीको समयमा संसारभरका अधिकांश चिडियाखानामा दर्शकलाई प्रतिबन्ध लगाइएको थियो। अवलोकनकर्ताहरु नभएपछि हङकङका एकजोडी पाण्डाले सहबास गरेको समाचार नै बन्नुले पनि यिनीहरु प्रजननमा त्यति रुचि राख्दैनन् भन्ने बुझिन्छ। यद्यपि चिडियाखानामा संरक्षित पाण्डालाई भियाग्रा खुवाएर अथवा कृत्रिम गर्भाधान गराएर पनि पाण्डाको सङ्ख्यामा वृद्धि गराइँदै आएको छ। तसर्थ पछिल्लो समय संरक्षित पाण्डाको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

गैँडासँग किन नसाट्ने?

वार्षिक एक जोडी पाण्डाको २० लाख डलर भाडा अनि यसको हेरचाहमा हुने थप खर्च। सायद यही भएर हुन सक्छ नेपालले चीनबाट पाण्डा माग्ने आँट गरेको छैन। आगामी वर्ष सन् २०२५ मा नेपाल र चीनबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवमा नेपालले चीनसँग पाण्डा किन नमाग्ने?नेपाल सधैँ एक चीनको सिद्धानत्मा अडिग छ। तर, खोइ त चीनले नेपाललाई पाण्डा दिएको? यसका लागि चिनियाँ कानुन तगारो बनेको हुन सक्छ। किनभने सन् १९८४ मा चीनले पाण्डा निःशुल्क नदिने र भाडामा लगाउने कानुन बनाएको छ। यदि यो कानुन नबनाएको भए नेपालले पनि एक जोडी पाण्डा पाउने थियो कि!

नेपालले चीनलाई अहिलेसम्म तीन जोडी गैँडा उपहार दिइसकेको छ। नेपालले सन् २०१८ मा रुपसी र भद्र अनि मितिनी र सोल्टी (दुई जोडी गैँडाका नाम) चीनलाई दिएको थियो। नेपालले पनि केटाकेटी (गैँडाका पुरुष र स्त्रीलिङ्ग)को भाडा असुल्नु पर्‍यो कि नेपालका चिडियखानामा पनि पाण्डा राख्नु पर्‍यो।

साभारः सेतोपाटी अनलाइन (२०२४ सेप्टेम्बर ८)