देशैभरि डेंगी संक्रमण फैलिएको छ। भदौको तेस्रो सातासम्म ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिसक्दा पाँचवटा जिल्लामा भने पाँच सयभन्दा बढी व्यक्ति संक्रमित भएको पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा बढी तनहुँमा ११ सय ४९, कास्कीमा सात सय ६४, पर्वतमा ६ सय ५७, काठमाडौंमा पाँच सय ५२ र चितवनमा पाँच सय ३३ जनामा संक्रमण भइसकेको छ।
देशभरिमा संक्रमित हुनेको संख्या ६ हजार आठ सय ३१ पुगेको छ। संक्रमितमध्येमा चार जनाको मृत्यु भएको छ। कतिपय जिल्लामा सक्रिय संक्रमितको संख्या ओरालो लागेकाले डेंगी अहिल्यै कुन रूपमा कता फैलिन्छ भनेर यकिन गर्न नसकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो।
उनका अनुसार तनहुँ र कास्कीमा नयाँ संक्रमित दर ओरालो लागेको छ। काठमाडौं, चितवनालगायत केही जिल्लामा भने अहिले पनि उल्लेखनीय संख्यामा संक्रमण दर बढेको देखिएको छ। चितवनको स्थानीय तहले लामखुट्टे खोजी गरी नष्ट गर्ने अभियान सक्रिय पारेको देखिएकाले संक्रमण दर ओेरालो लाग्ने सम्भावना छ।
गत वर्षको तुलनामा यो वर्ष समयमै सर्च एन्ड डेस्ट्रोय अभियान स्थानीय तहले जारी राखेका कारण पनि गत वर्षको तुलनामा बढी प्रकोप नभएको हुन सक्ने डा. दाहालले बताउनुभयो।
जनघनत्व बढी भएका सहरहरूमा यसको जोखिम अहिले पनि कायम रहेकोले डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने कार्य जारी राख्न उहाँले सुझाव दिनुभयो।
स्वास्थ्य सेवा विभागका पूर्वइप्टिमोलोजिस्ट (कीटविज्ञ) शिशिर पन्तले थप दुई महिना डेंगी सार्ने लामखुट्टेका लागि अनुकूल मौसम भएकाले अभियान जारी राख्नुपर्नेमा जोड दिनुभयो। घरभित्र सफा पानी जम्मा गर्ने ट्यांकी राख्ने गरिँदा घरबाहिरको वातावरण अहिले पनि एडिस लामखुट्टेका लागि अनुकूल देखिएको उहाँले बताउनुभयो। नागरिकन्यूज डट कम।