चीनको सहयोगमा पूर्वी टिमोरमा कफी प्रदर्शन बगैंचा
2024-09-12 15:48:52cri
Share with:

कफी पूर्वी टिमोरको महत्वपूर्ण कृषि उपज र मुख्य निर्यात वस्तु हो। हरेक वर्ष पूर्वी टिमोरको कफीको निर्यात रकमले पूर्वी टिमोरको कृषि उपजको निर्यातको कुल रकमको ९० प्रतिशत भाग ओगट्ने गरेको छ। पूर्वी टिमोरको अर्थतन्त्रको विकास र सर्वसाधारणको जीवनको सुधारका लागि कफीको महत्वपूर्ण अर्थ रहेको छ। सन् २०२१ मा चीन सरकारले पूर्वी टिमोरको मुख्य कफी उत्पादन क्षेत्र एलेऊमा कफी प्रदर्शन बगैंचाको स्थापना गरेको थियो। यो कफी प्रदर्शन बगैंचाले पूर्वी टिमोर कफी संघसँग सहकार्य गर्दै स्थानीय कफी किसानलाई प्राविधिक तालिम दिने र कफीको उत्पादन मात्रा तथा गुणस्तर बढाउन मद्दत गरेको छ।

 

हाल यो कफी प्रदर्शन बगैंचाबाट उत्पादित अर्गानिक कफी चर्चित भएको छ। पूर्वी टिमोरका राष्ट्रपति जोस मानुएल रामोस होर्टाले पनि त्यहाँको कफीबारे प्रचार-प्रसार गर्नुभएको छ। उहाँले राष्ट्रिय उपहारको रुपमा सो कफी विदेशी अतिथिलाई दिने गर्नुभएको छ।

 

तीन वर्षयता पूर्वी टिमोर कफी संघका चिनियाँ प्राविधिक सल्लाहकार छन् लीसुङले हरेक महिनामा प्रदर्शनी बगैंचा गएर किसानहरूलाई प्राविधिक तालिम दिने गरेका छन्। छन् लीसुङ भन्छन् “पूर्वी टिमोरका लागि चिनियाँ राजदूतावासले सहायता दिएको कफी प्रदर्शन बगैंचा सन् २०२१ मा स्थापना गरियो। यो प्रदर्शन बगैंचाको मुख्य कार्य प्राविधिक तालिम दिनु हो। बाली भित्र्याउने बेलामा हामीले किसानहरूलाई कसरी टिप्ने र प्रशोधन गर्ने निर्देशन दिने गर्दछौँ।”

 

पूर्वी टिमोरको एलेऊ क्षेत्रको क्विरिलेलो गाउँको पानी, माटो, जलवायुआदि प्राकृतिक अवस्था कफी खेतीलाई निकै सुहाउँछ। यो गाउँका एक सयभन्दा बढी परिवार कफीमा निर्भर रहेका छन्। तर लामो समययता स्थानीय किसानको उत्पादन तरीकाका कारण कफीको उत्पादन मात्रा सिमित बनेको थियो। क्विरिलेलो गाउँका प्रमुख डा कोस्टा रूइले पत्रकारसँग कुराकानी गर्दै चीनको प्राविधिक तालिममा उनको गाउँको कफीको उत्पादन मात्रा पहिलेभन्दा दुई गुणाले वृद्धि भएको कुरा बताए। उनी भन्छन् “गाउँका धेरै कफी बोटविरुवा पुरानो भयो। पहिले हरेक कफी बोटको उत्पादन मात्रा उच्च थिएन र दुईदेखि तीन किलोग्रामसम्मको कफी चेरी पाउनसकिन्थ्यो। पछि चीनको मद्दतमा हरेक कफी विरुवाबाट पाँचदेखि छ किलोग्रामसम्मको कफी चेरी पाउनसकिन्छ। पहिले हामीले सबै कफी चेरी टिपेका थियौँ। तर हाल हामीले मात्र परिपक्व चेरी टिप्छौँ। त्यसैले हाम्रो गाउँको कफीको गुणस्तर उत्तम छ।”

 

चीन र पूर्वी टिमोरले सन् २०१७ मा “बेल्ट एण्ड रोड” को साझा निर्माणको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। दुई पक्षको साझा सहयोगमा चीनले पूर्वी टिमोरको आधारभूत प्रबन्धको निर्माणलाई अगाडि बढाउनुका साथै कफीआदि कृषि क्षेत्रमा पूर्वी टिमोरलाई ठूलो समर्थन दिएको छ।

 

पूर्वी टिमोरका लागि चिनियाँ राजदूतावासको प्रयासमा पूर्वी टिमोर कफी संघले चीनको युननान पाउ शान कफी संघसँग प्राविधिक आदान-प्रदान गर्ने तथा पूर्वी टिमोरमा कफी रोप्ने किसानहरूलाई अत्याधुनिक कफी प्रविधि सिकाउने मौका उपलब्ध गराएको छ।