संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभएको छ । भारतको नयाँ दिल्लीमा बुधबारबाट शुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकार्ओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलन उद्घाटन सत्रलाई सम्बोधनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो।
साथै उहाँले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न जोडदार रुपमा आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताउनु भएको छ । सम्बोधनका क्रममा मन्त्री पाण्डेले भन्नभयो, ‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौ। यसबाट पनि हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिवद्धता स्पष्ट हुने छ ।’
मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकीहरुको सहयोगका लागि विशेष जोड दिँदै भन्नुभयो, ‘यी दुई विमानस्थलहरुको प्रभावकारी सञ्चालनका लागि नेपालले तपाईंहरु सबैको र विशेष गरी छिमेकी देशहरुको बलियो सहयोगको अपेक्षा गरेको छ ।’ नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धि प्रति प्रतिवद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गर्दै मन्त्री पाण्डेले भन्नुभयो, ‘सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु।’
गोरखापत्र अनलाइनका अनुसार नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइसकेको छ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘सिकागो कन्भेन्सको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले हामीले सो कन्भेन्सनका सिद्धान्तहरुलाई स्वीकार गरेका छौं र दुर्घटना अनुसन्धानको स्वतन्त्र जाँचबुझ गर्न स्थायी निकायको स्थापनाका लागि नयाँ कानुन निर्माणको काममा अगाडि बढी सकेका छौं ।’
सुरक्षित र लचिलो उड्डयन पूर्वाधारहरु उड्डयन क्षेत्रको सुधारका लागि आधारभूत कुराहरु भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, यस क्षेत्रको हवाई सुरक्षा मजबुत बनाउन आइकाओका सदस्य मुलुकहरुबीच थप सहयोग सझेदारीको माग गर्छ । तसर्थ म पुनः क्षेत्रीय सहयोगमा जोड दिन्छु जसले गर्दा सुरक्षित र दीगो उड्डयन तर्फको हाम्रा साझा प्रतिवद्धताबाट हरेक देश लाभान्वित हुन सकुन ।
आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे मंगलबार भारत प्रस्थान गर्नु भएको थियो ।
बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन । एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको विहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलनमा ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता हुने जनाइएको छ।