सेप्टेम्बर १२ तारिख, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा अन्तर्राष्ट्रिय विभागका निर्देशक वाङ यीले रूसको सेन्ट पिटर्सबर्गमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग भेटवार्ता गर्नुभएको छ।
दुई पक्षले हालैको सीमा मामिला सम्बन्धित वार्तामा भएको प्रगतिबारे छलफल गरेका छन्। चीन-भारत सम्बन्धको स्थायित्व दुई देशका जनताको आधारभूत र दीर्घकालीन हितमा रहेको तथा क्षेत्रीय शान्ति विकासका लागि अनुकूल रहेको दुवै पक्षको भनाइ रहेको छ। यसका साथै, दुई देशका नेताहरूको सहमतिलाई कार्यान्वयन गर्ने, आपसी विश्वास र समझदारी बढाउने, दुई पक्षीय सम्बन्धको सुधारका लागि प्रयास गर्ने र वार्तालाई निरन्तरता दिने विषयमा पनि सहमति भएको छ।
वार्ताको क्रममा, वाङ यीले हालको जटिल र परिवर्तित विश्वको सामना गर्न चीन र भारत पूर्वका दुई प्राचीन सभ्यता र नयाँ ठूलो विकासोन्मुख देशको रूपमा स्वाधीनताको पालना गर्दै एकता र सहकार्यलाई चयन गर्नुपर्नेमा जोड दिनुभयो।
यसै गरी, डोभालले भारत र चीनले आफ्नो तथा साझा विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। दुई देशका २ अर्ब ८० करोड जनताको संयुक्त प्रयासमा हुने तीव्र विकासले विश्वलाई परिवर्तन गर्ने पनि व्यक्त गर्नुभयो।