सामान बोकेका चिनियाँ रेल नेपालको सीमा नजिकै
2024-09-13 16:45:38CRI
Share with:

चीनमा रहेका केही नेपाली व्यवसायीको प्रयासमा विभिन्न शहरबाट नेपालको सीमानासम्म सोझै सामान पठाउन थालिएको छ । तिब्बतको सिगात्सेसम्म रेलमा पठाइएका ती सामान किफायती, हिफाजत र छोटो समयमा नेपालको सीमानासम्म आइपुगेको बताइएको छ ।

चीनको चच्याङ प्रान्तको यिवुमा रहेका नेपाली व्यवसायीहरुले परीक्षणको रुपमा अगष्ट ८ तारिखका दिन पठाइएका ती सामान १० दिनपछि अगष्ट १८ मा रेलमा सिगात्से पुगेको थियो । त्यहाँबाट स्थलमार्ग हुँदै ल्याइएका सामान अगष्ट २१ र २२ का दिन नेपाली सीमानामा यताका व्यवसायीलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

नेपाल चाइना चेम्बर अफ कमर्स यिवु, चच्याङका प्रतिनिधि विष्णु दुमरू र यिवुमा व्यापार गरि बस्ने सम्पूर्ण नेपालीको प्रयासस्वरूप उक्त कार्य सम्भव भएको नेपाल चेम्बर अफ कमर्स पूर्वी चाइना प्रतिनिधि राजकुमार खड्काले बताउनुभयो। यसलाई निरन्तरता दिन सकिएको अवस्थामा आगामी दिनमा निकै ठूला, गह्रौं र फुट्ने सामान रेलबाट सजिलैसँग लैजान सकिने उहाँको भनाई छ । ‘सामान पुग्ने समय पनि दुइ तिहाइले बचत भएको छ। दुई देशबीच प्रत्यक्ष व्यापार गर्दा तेस्रो देशको भूगोल उपयोग गर्न आवश्यक नपर्ने अवस्था छ । अति आवश्यकीय वस्तु आयात गर्दा तेस्रो देशको नाजायज प्रस्ताव स्वीकार गर्न नपर्ने र विगतमा नाकाबन्दी जस्तो पीडा भोगिएको र त्यसप्रकारका घुर्की नेपालले आगामी दिनमा भोग्नुनपर्ने अवस्था सिर्जना भएको छ,’ खड्काले भन्नुभयो।

यसैबीच नेपालको कोदारी र रसुवागढीबाट नजिकै रहेको रिकाजेमा चीनले तिब्बतको सबैभन्दा ठूलो सुख्खा बन्दरगाह बनाएपछि नेपाल हुँदै दक्षिण एसियाको व्यापारमा प्रमुख योगदान पुग्ने देखिएको छ । यसले चीनसँग नेपाल र दक्षिण एसियालाई व्यापारिक मार्गमा जोड्न विशेष योगदान पुग्ने अवस्था बनेको छ । रिकाजे नगरको हालै सम्पन्न ११ औं पार्टी समितिको दोस्रो बैठकले त्यहाँको सुख्खा बन्दरगाहलाई अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय गरेको जनआस्था अनलाइनले जनाएको छ।