#अल्पसंख्यक जाति# चिनियाँ अल्पसंख्यक जातिले मनाउने मध्य-शरद पर्व अर्थात चोङ् छ्यौ च्ये पर्व -१
2024-09-17 21:26:56cri
Share with:

 

चिनियाँ पात्रो अनुसार, आठौँ महिनाको पन्ध्रौं दिनलाई चोङ् छ्यौ च्ये अर्थात् मध्यशरद पर्व भनिन्छ। यही सेप्टेम्बर १७ तारिख चालु वर्षको मध्यशरद पर्व हो।

 

मध्य-शरद पर्व अर्थात चोङ् छ्यौ च्ये पर्व मनाउने रीतिरिवाज प्राचीन कालदेखि सुरू भएको हो। यस पर्वको रातमा चन्द्रमा सबैभन्दा बाटुलो र उज्यालो हुन्छ। यस्तो पूर्णिमा भएका कारण यस दिनलाई “थुआन युआन चे”चाड अर्थात् भेला हुने चाड पनि भनिन्छ। चिनियाँहरुले उक्त पर्वको राति चन्द्रमाको दर्शन र पूजा-आजा गर्ने रीतिरिवाज छ। साथै चिनियाँहरुले रातमा रंगी-विरंगी बत्ती प्रदर्शन गर्ने गर्दछन्। केही क्षेत्रमा बत्ती नदीमा राखेर सुख र सौभाग्यको शुभकामना दिने चलन पनि छ।

 

सो रातमा चन्द्रमाको पूजा-आजा गर्न र त्यसको दर्शन गर्नका लागि“युए पिङ्ग" नामक एक विशेष किसिमको रोटी नभई नहुने खाद्य-पदार्थ हो। युए पिङ्ग नामक रोटी पूर्णिमाको चन्द्रमाको आकार जस्तै बनाइएको हुन्छ जसमा केही टुक्रा-टुक्रा चीज-बीजहरु राखिएका हुन्छन्। साधारण रोटीको तुलनामा त्यो निकै फरक हुन्छ। यस किसिमको रोटीको बाहिरी भागमा पौराणिक कथामा भनिएअनुसार छाङ्अ नामकी एउटी देवी चन्द्रमातिर उडेर गएको चित्र वा सम्पन्न वर्षको दृष्य वा दीर्घायुको कामना सम्बन्धी चित्रहरु पनि कुँदिएको हुन्छ।

 

चोङ् छ्यौ च्ये चाडको बेलुकी पूर्ण गोलाकार चन्द्रमा भर्खरै उदाउँदा मानिसहरु उदाइरहेको चन्द्रमातिर युए पिङ्ग र नाना किसिमका फल-फूलहरु राखेर पूजा-आजा गर्न थाल्र्छन्। पूजा-आजा गर्ने क्रिया सकिएपछि परिवारका सबै सदस्यहरु एउटै ठाउँमा बसेर चन्द्रमाको दर्शन गर्दै युए पिङ्ग रोटी खाने गर्दछन्।

 

चीनका विभिन्न क्षेत्रहरुका युए पिङ्गको शैली र स्वाद पनि फरक-फरक छ। पैचिङ्गमा पैचिङ्ग शैलीको युए पिङ्ग रोटी,पूर्वी चीनमा पर्ने सु चौ नगरले प्रतिनिधित्व गरेको सु चाउ शैलीको युए पिङ्ग रोटी, दक्षिणी चीनमा पर्ने क्वाङ्ग तुङ्ग प्रान्तको क्वाङ्ग शैलीको युए पिङ्ग रोटी र छाउ चाउ क्षेत्रको छाउ शैलीको युए पिङ्ग चीनभरिमै सबैभन्दा लोकप्रिय छन।

 

चिनियाँहरुको जीवनस्तरमा सुधार हुँदैआएको सन्दर्भमा युए पिङ्ग रोटीभित्र राखिने चीज-बीजहरुमा पनि परिवर्तन भएको देखिन्छ। परम्परागत चिनी,बयर,नरिवल, रातो दालका धूलो, सुकुटी मासु आदि बाहेक हाँसका नूनिला अण्डाको पहेंलो भाग,फल-फूलका मसिना टुक्रा र छु अर्थात् भेनेगर पनि युए पिङ्ग रोटीभित्र राख्ने गरिन्छ।

युए पिङ्ग रोटी नाता-कुटुम्ब र इष्ट-मित्रहरुसित शिष्टाचार भेट गर्दा एक-अर्कालाई दिने-चढाउने कोसेली हो।

 

तपाईं पनि मध्य-शरद पर्वको युए पिङ्ग रोटी चाख्न चाहनुहुन्छ?