पेरुका युवक मोरीको चीन बसाइको कथा-२
2024-09-23 09:02:34cri
Share with:

उच्च स्तरको खुलापन भएको चीनले संसारलाई प्रशस्त अवसरहरू ल्याएको मोरीले महसूस गरेका छन्। विश्वविद्यालयबाट स्नातक भएपछि, उनले "विश्वको सुपरमार्केट" भनेर चिनिएको यिवुमा व्यापार गर्दै चीनका सामानहरूलाई पेरूमा लैजान थाले।

“म चीनको व्यापार वातावरणलाई धेरै मन पराउँछु। चीनले हरेक दिन नयाँ उत्पादनहरू दिन्छ, र मैले प्रत्येक दिन मलाई निकै राम्रो लाग्ने कुनै चिज पाउँछु । यो हामी जस्तै व्यवसायीहरुका लागि साँच्चै धेरै राम्रो कुरा हो। तपाईँ देख्न सक्नुहुन्छ, चीनका बजार र सडकहरूमा खेलौना गुडीया समात्ने धेरै यन्त्रहरू छन्, जसमा स-साना बच्चाहरू र ठूला मानिसहरू पनि खेल्न रुचाउँछन्। यसका साथै, भान्साका केही साना फर्निचर तथा सामग्रीहरु पेरूमा अत्यधिक लोकप्रिय छन्, केही डिजाइनहरू धेरै सुविधाजनक र रचनात्मक छन्, जसले तपाईँलाई अझ खुसी र आनन्दित बनाउँछ। म यो कुरालाई 'खुसी अर्थतन्त्र' भन्छु।”

मोरीले नियमित रुपमा खुशी बोक्ने चिनियाँ माल-सामानहरु पेरूमा पठाउँछन्, र जब जहाजहरू प्रशान्त महासागर क्षेत्र जान्छन्, तब उनको मनमा आशा भरिन्छ।

“अब चीनबाट पेरूमा सामान पुग्न ४० दिन लाग्छ, तर धनकाइ नाकाको उद्घाटनपछि यो मात्र २० दिनमै पुग्न सक्ने छ। त्यसपछि हाम्रो पेरू सम्पूर्ण ल्याटिन अमेरिकाको महत्त्वपूर्ण समुद्री नाका बन्ने छ।”

मोरीले चर्चा गरेको धनकाइ नाका पेरूमा चीनको पहिलो ठूलो परिवहन आधारभूत संरचना परियोजना हुनुका साथै "बेल्ट एण्ड रोड" पहलको ल्याटिन अमेरिकी क्षेत्रको प्रमुख परियोजना हो। अहिले जोडतोडका साथ निर्माण भइरहेको छ, र यस वर्षको अन्त्यमा पूरा गर्ने लक्ष्य लिएको छ। निर्माण सम्पन्नपछि, धनकाइ नाका ल्याटिन अमेरिकी क्षेत्रमा महत्त्वपूर्ण केन्द्रीय नाका र प्रशान्त द्वारको रूपमा विकसित हुनेछ, यसले स्थानीय आर्थिक विकासमा मद्दत पुर्याउनेछ र यो चीन र पेरूबीचको मित्रता र व्यापारको नयाँ जडान र सञ्चारको पुल बन्ने छ। मोरी त्यस दिनको प्रतीक्षा गर्दै छन्।

“हाम्रो धनकाइ नाकामा चीनको लगानी महत्त्वपूर्ण छ, किनभने यसले हाम्रो स्थानीय आर्थिक वृद्धिलाई डोर्याउने छ। उदाहरणका लागि व्यापार, ढुवानी, उद्योग, यी सबै वृद्धि हुनेछन्, र युवाका लागि काम र रोजगारका अवसरहरू बढ्ने छन्। मैले धनकाइ नाकामा एउटा गोदाम किन्ने योजना बनाएको छु। हामी जस्ता व्यापारीहरु सधैँ अगाडि बढ्नुपर्छ, किनभने यी सबै अवसरहरू हुन्।”

चीन र पेरुको स्वतन्त्र व्यापार सम्झौताहरूको निरन्तर उन्नति र धनकाइ नाकाको संचालनको सिलसिलामा भविष्यमा दुई देश बीचको सम्बन्ध र संवाद थप मजबुत हुनेछ र दुवै देशको मित्रता पनि गहिरो हुने विश्वास मोरीले गरेका छन्।

“पेरूले चीनको विकास प्रक्रिया र उपलब्धिहरूलाई देख्न पाउनेछ र यसबाट हाम्रो विकासमा नक्कल गर्ने मौका पाउन सक्ने मैले आशा गरेको छु। चीनका अझ बढी साथीहरू पेरूमा आउनुहोस्, लगानीका लागि होस् वा यात्रा गर्नका लागि, चिनियाँहरुले उन्नत, मैत्रीपूर्ण र चीनलाई अत्यधिक माया गर्ने पेरू देख्ने छन्।”