चन्द्रमामा बस्न गएकी छाङ्अका नाममा चीनले उडाइरहेको रकेट
2024-09-25 17:01:08cri
Share with:

----------चेतनाथ आचार्य

 

   पछिल्लो समय चन्द्रमाका बारेमा सबैभन्दा बढी अनुसन्धान गर्ने देशका रुपमा चीन चिनिएको छ। अन्तरिक्षको खोज अनुसन्धानबाट चीनले हासिल गरेको उपलब्धिलाई लिएर उसको प्रतिस्पर्धी देश अमेरिकाले पनि प्रशंसा गरेको छ। सन् २०१९ को जनवरीमा पृथ्वीबाट नदेखिने चन्द्रमाको पछिल्लो भागमा चीनले अन्तरिक्ष यान अवतरण गरेपछि विश्वभर चीनको प्रशंसा चुलिएको हो।

   चन्द्रमा छुन पुग्ने चिनियाँ यानको नाम 'छाङ्अ' हो। चीनले चन्द्रमामा पठाएको अन्तरिक्ष यानको शृङ्खलाको नाम किन छाङ्अ राख्यो भन्ने बारेमा रोचक मिथक जोडिन आउँछ। मिथक कथाकी एक पात्र हुन् 'छाङ्अ'। चिनियाँ भाषामा यसको अर्थ हुन्छ परी। चार हजार वर्ष पहिले पृथ्वीबाट उडेर गएकी छाङ्अ चन्द्रमा अर्थात् स्वर्गमा बस्छिन् भन्ने चिनियाँ विश्वास छ। चिनियाँहरुको परम्परागत मान्यता अनुसार चन्द्रमा भनेकै स्वर्ग हो।

   छाङ्अको रोचक कथाको प्रसङ्ग यस्तो छ।

   कुनैबेला आकाशमा १० वटा सूर्य एकैचोटि उदाउँथे। तिनको तापले पृथ्वीमा कुनै पनि जीव बाँच्नै नसक्ने भए। सूर्यको प्रचण्ड तापलाई कम गर्ने विषयमा स्वर्गका भगवानहरू पनि सोचमग्न थिए। त्यही बेला एकजना साहसी व्यक्ति देखापरे। नाम थियो- ‘हौ यी’। उनी तीर हान्न निकै सिपालु थिए। उनले तीर हानेर नौवटा सूर्यलाई आकाशबाट खसाली दिए। आकाशमा एउटा मात्र सूर्य भएपछि पृथ्वीमा प्रचण्ड तापमान हरायो र सामान्य अवस्था सिर्जना भयो। तिनै हौ यीले अत्यन्त सुन्दरी छाङअसँग बिहे गरे।

   हौ यीको तीरकलाबाट प्रभावित भएर स्वर्गकी रानीले अजम्बरी हुने खाद्य पदार्थ ‘बुटी’ दिएकी थिइन्। त्यो बुटी खाएपछि जिउँदै स्वर्गमा उडेर जान सकिन्थ्यो र सदा अमर भएर स्वर्गमा बस्न पाइन्थ्यो। हौ यीले बुटीलाई सुरक्षित राख्न छाङअलाई दिएका थिए।

   हौ यीले सबैलाई तीर चलाउने कला सिकाउँथे। उनका थुप्रै शिष्य भए पनि उनीजत्तिकै निपुण चाहिँ कोही पनि थिएनन्। उनका शिष्यमध्ये फङमङले उक्त बुटी खाएर अमर हुने षड्यन्त्र बुन्यो। एकदिन हौ यीले आफ्ना सबै शिष्य लिएर जङ्गलमा तीर हान्न जाने योजना बनाएका थिए। उक्त दिन फङमङले आफूलाई सन्चो नभएकाले जंगल जान नसक्ने बतायो र सबै गएपछि हौ यीको घरमा गएर अजम्बरीको बुटी चोर्ने बिचार गर्‍यो। उसले छाङअलाई धम्क्यायो र बुटी नदिएमा मारिदिने त्रास देखायो। छाङअले उसलाई बुटी दिनुभन्दा आफैँ खाने विचार गरिन् र क्वाप्पै खाइदिइन्।

   बुटी खाएपछि छाङअ उडेर ‘स्वर्ग’ अर्थात् चन्द्रमामा पुगिन्। जङ्गलमा तीर हान्ने काम सकेर साँझ फर्केर आएपछि मात्र छाङअ उडेर चन्द्रमामा गएको हौ यीले थाहा पाए। उनी पत्नी वियोगको पीडामा परे। सधैँ चन्द्रमातिर हेरेर आफ्नी श्रीमती फर्केर आउने कल्पना गर्दथे उनी।

   एकदिन हौ यीले छाङअलाई मन पर्ने परिकारहरू बनाएर टेबुलमा सजाएर राखे। त्यो दिन परम्परागत चिनियाँ पात्रोअनुसार आठौँ महिनाको १५ औँ दिन अर्थात् पूर्णिमाको साँझ थियो। त्यो दिन हौ यीलाई भेट्न छाङअ पृथ्वीको नजिकै आइन्। आफूलाई मन पर्ने परिकार देखेर खुशी भइन्।

   छाङ्अ आफ्नो प्रियजन हौ यीलाई भेट्न आएको उक्त दिन परम्परागत चिनियाँ पात्रोअनुसार आठौँ महिनाको १५ औँ दिनको पूर्णिमामा रात थियो। त्यसपछि उक्त पूर्णिमाका दिन चन्द्रमा सबैभन्दा चम्किलो र आकारमा सबैभन्दा ठूलो हुन्छ भन्ने चिनियाँ विश्वास रहँदै आएको छ।

   हौ यीलाई भेट्न छाङअ पृथ्वी नजिक आएको दिनको त्यही सम्झनामा चिनियाँहरू चन्द्रमा हेर्दै केक खान्छन्। यो समय शरद ऋतुको मध्यमा पर्ने भएकाले यसलाई मध्यशरद चाड पनि भनिएको हो।

   परापूर्वदेखि मनाइँदै आएको यो चाडलाई सातौँ शताब्दीमा चीनको थाङ राजवंशले राष्ट्रिय चाडका रुपमा मनाउन थालेको थियो। सन् २००६ को मे २० मा चीनले अभौतिक सांस्कृतिक सम्पदामा राख्यो र सन् २००८ देखि मध्यशरद चाडका अवसरमा चीनमा सार्वजनिक बिदा दिन थालियो।

   आधुनिक विज्ञानमा छलाङ मार्दै चन्द्रमा खोज अनुसन्धानमा चीनले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। त्यही चन्द्रमालाई स्वर्गको प्रतीक मान्दै पूजा गर्ने चलन पनि चीनमै छ। एकातिर सांस्कृतिक संरक्षणका रुपमा परम्परागत अन्धविश्वासलाई चीनले भयङ्खर प्रचार गर्दै आएको छ भने अर्कातिर अन्तरिक्ष विज्ञानमा चीनले प्रगति विश्वमै अग्रणी भागमा पुगेको छ। यी विरोधाभास विषयलाई नियाल्दा अन्धविश्वास र आधुनिक विज्ञानमा चीनको बेजोड लगाव देखिन्छ।

 

मिथक परीकै नामा चिनियाँ अन्तरिक्ष यान

   चीनले अन्तरिक्ष अन्वेषणका लागि प्रक्षेपण गरिने यानको नाम 'छाङ्अ' राखेको छ। पाँच हजार वर्ष अगाडि अमृत पिएर चन्द्रमामा पुगेर बसेकी परीकै नाममा आफ्नो शृङ्खलावद्ध प्रक्षेपण गरिने रकेटको नाम छाङ्अ राखेको हो।

   चीनको चन्द्रमा अन्वेषण कार्यक्रमलाई 'छाङ्अ परियोजना' पनि भनिन्छ। यो  चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनद्वारा 'रोबोटिक मुन मिसन'को निरन्तर शृङ्खला हो।

   चीनले सन् २०२३ को जुलाईमा अन्तरिक्ष कार्यक्रमको लक्ष्य प्रस्तुत गरेको थियो। जस अनुसार सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना रहेको छ। त्यसो त सन् २०१९ मै चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन कार्यालयका प्रमुख चाङ खचियानले दस वर्षभित्रमा चन्द्रमाको दक्षिणी ध्रुवमा वैज्ञानिक अनुसन्धान केन्द्र निर्माण गर्ने योजना बताएका थिए।

   चीनले सन् २००७ मा पहिलोपटक चन्द्रमामा छाङ्अ १ प्रक्षेपण गरेको थियो। जसले चन्द्र सतहको मौलिक संरचना मापन गर्यो। त्यसपछि सन् २०१० मा छाङ्अ २ र सन् २०१३ मा छाङ्अ ३ प्रक्षेपण गर्योछ। त्यसैगरी सन् २०१८ मा छाङ्अ ४ र सन् २०२० मा छाङ्अ ५ अन्तरिक्ष यान सफल रुपमा प्रक्षेपण गर्यो। सन् २०२४ को मे ३ तारिख चीनले छाङ्अ ६ प्रक्षेपण गरेको छ। चीनको योजना अनुसार सन् २०२६ मा छाङ्अ ७ प्रक्षेपण गर्ने रहेको छ।

 

चन्द्रमा खाँदै चन्द्रमा हेर्दै

    यो चाड मनाउन टाढा पुगेका परिवारका सदस्यहरू एकै ठाउँ भेला हुनैपर्ने भएकाले यसलाई पारिवारिक पुनर्मिलनको चाडका रुपमा लिइन्छ। यो चाड मनाउँदा चन्द्रमा हेर्नै पर्ने मान्यता छ। बरण्डा अथवा झ्यालको छेउमा गएर चन्द्रमा हेर्दै चिनियाँहरू केक खान्छन्। मुख्य रुपमा पिठोमा अण्डा र विभिन्न फलफूल मिसाएर बनाइने केकलाई बासनादार र स्वादिलो बनाउनका लागि विभिन्न फूलको रस मिसाउने गरिन्छ। मूलतः यो चाड मनाउनका लागि तीन वटा कुरा हुन अनिवार्य छ। पहिलो केक, दोस्रो चन्द्रमा देखिनु र तेस्रोमा पारिवारिक पुनर्मिलन।

   केकलाई चन्द्रमाकै आकारमा बनाइएको हुन्छ। यसलाई चन्द्रमाकै प्रतीक पनि मानिन्छ। त्यसरकाण भनिन्छ यो दिन चिनियाँहरु चन्द्रमा खाँदै चन्द्रमा हेर्ने गर्छन्। पहिले पहिले घरमा गोलो ठूलो रोटी पकाएर परिवारका सदस्य बराबर भाग लगाएर चन्द्रमा हेर्दै खाने चलन थियो। मान्यता कति कडा थियो भने सो रोटीलाई भाग लगाउँदा परिवारका सदस्यभन्दा एक टुक्रा पनि घटीबढी बनाउन पाइँदैनथ्यो। हिजोआज बनिबनाउ केक बजारमा छ्यापछ्याप्ती किन्न पाइने भएपछि चिनियाँहरू घरमा बनाउँदैनन्। साथी र आफन्तबाट यो समयमा पाउने उपहार पनि केकका बट्टाहरू नै हुन्।

   परम्परागत चिनियाँ पात्रो अनुसार औँशीबाट महिना सुरु हुन्छ। चिनियाँ मान्यतामा आठौँ महिनाको पन्ध्रौं दिनमा पर्ने पूर्णिमामा देखिने चन्द्रमा पृथ्वीबाट अरुबेलाभन्दा नजिक र सबैभन्दा बाटुलो देखिन्छ।अनि यही दिनलाई चिनियाँहरु ‘चोङ छ्यौ च्ये’ भन्छन्। चिनियाँ भाषामा ‘चोङ’ भनेको मध्य हो भने ‘छ्यौ’ भनेको शरद हो। त्यसपछि आउने ‘च्ये’ शब्दको अर्थ चाहिँ चाड अथवा पर्व हुने गर्छ। त्यसकारण यो दिनलाई ‘मध्य शरद पर्व’का रुपमा चीनमा मनाइन्छ।

   चालु वर्ष मध्यशरद पर्व यही सेप्टेम्बर १७ तारिख (असोज १ गते मङ्गलबार) परेको छ।

   यस पर्वको साँझ चिनियाँहरुले चन्द्रमाको दर्शन र पूजा-आजा गर्ने गर्दछन्। रङ्गी-विरङ्गी बत्ती बालेर परिवारका सबै सदस्य भेला भएर विशेष प्रकारको केक खाने गर्छन्। अनि आपसमा सुख, शान्ति, समृद्धि र सौभाग्यका लागि शुभकामना बाँड्छन्। साँझमा चन्द्रमाको पूजा-आजा गर्न विशेष प्रकारको केक नभई हुँदैन। यो केकलाई चिनियाँ भाषामा ‘युए पिङ’ भनिन्छ। 'युए' भनेको चन्द्रमा हो भने 'पिङ' रोटी हो। नेपालीहरुले बुझ्ने जस्तो यो रोटी चाहिँ बाटुलो र पातलो हुँदैन। बरु भुक्क परेको र हत्केलामा अट्ने भएकाले यसलाई अङ्ग्रेजी अनुवाद गर्दा ‘मुनकेक’ भनिएको हो। यो ठ्याक्कै चन्द्रमा जस्तै आकारको हुन्छ।

   यो विशेष प्रकारको रोटीमा विभिन्न खाद्य पदार्थ राखेर बनाइएको हुन्छ। त्यसकारण यो साधारण रोटीभन्दा निकै फरक हुन्छ। यस किसिमको रोटीको बाहिरी भागमा प्रायशः चिनियाँ पौराणिक कथामा उल्लेख भएकी 'छाङ्अ' नामकी परी चन्द्रमातिर उडेर गएको चित्र बनाइएको हुन्छ। त्यसो त समृद्धि जनाउने अन्य चित्र पनि राखिएका हुन्छन्।

   यस पर्वका साँझमा पूर्ण गोलाकार चन्द्रमा उदाउँदा मानिसहरु चन्द्रमातिर उक्त केक देखाउँदै पूजा गर्छन् र परिवारका सबैजना बसेर खुशीसाथ खान्छन्।

   चीनका विभिन्न क्षेत्रहरुका रोटीको शैली र स्वाद फरक-फरक हुने गर्छ। चिनियाँहरुको जीवनस्तरमा सुधार हुँदैआएपछि रोटीभित्र राखिने चीज-बीजहरुमा पनि परिवर्तन हुँदै आएको छ। ‍ चिनी, बयर, नरिवल, राजमा, सुकुटी मासु बाहेक हाँसका नुनिला अण्डाको पहेँलो भाग, फल-फूलका टुक्रा र भेनेगर आदि रोटीमा राखेर बनाइएको हुन्छ।

अल्प सङ्ख्यक जातिका रोचक चलन

   चीनमा रहेका विभिन्न अल्पसङ्ख्यक जातिमा यो चाड मनाउने चलन पनि फरक फरक रहेको छ। 'ताई' जातीय मान्यता अनुसार स्वर्गका सम्राटको तेस्रो छोरो नै चन्द्रमाका रुपमा रहेका हुन्। उनले 'ताई' जातिको नेतृत्व गरेर शत्रुलाई परास्त गरेका थिए। उनको निधन भएपछि चन्द्रमा बनेर आकाशमा नरम चाँदनीबाट अँध्यालोमा प्रकाश छरेर 'ताई' जातीय सर्वसाधारणलाई उज्यालो दिएका हुन् भनिन्छ।

   चीनको अर्को अल्पसङ्ख्यक जाति ‘अलुनछुन’ जातिमा चन्द्रमाको पूजा गर्ने चलन फरक छ। उनीहरू खाली ठाउँमा सफा पानीले भरिएको भाँडो राख्छन् र चन्द्रमाको छाया पानीमा प्रष्ट देखिएपछि साना ढुंगा हानेर चन्द्रमालाई गिज्याउँछन्।

   'मंगोलिया' जातिमा चाहिँ घोडा चढेर चन्द्रमा तिर लम्कने चलन छ। चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मङ्गोलिया स्वायत्त प्रदेशको घाँसे मैदानमा घोडा चढेर चन्द्रमातिर दौडाउँदै रमाइलो गरिन्छ। मङ्गोलिया जातिजस्तै तिब्बती जातिमा पनि चन्द्रमा खोज्ने चलन छ। उक्त पर्वको राति तिब्बती युवा-युवती र बालबालिकाहरु नदी वा तालमा रहेको चन्द्रमाको छाया हेर्न जाने गर्छन्।

   चीनको उत्तर-पूर्वी क्षेत्रमा बसोबास गर्ने 'ह च' जातिका मान्छेहरु मध्य शरद पर्वमा अङ्गुर टिपेर चन्द्रमाको पूजा गर्दछन्। त्यसैगरी 'यी' जातिका विभिन्न गाउँका गाउँलेहरू एउटै ठाउँमा भेला भएर रमाइलो गर्दै नाचगान गर्दछन्। युवा-युवतीहरू गीतमार्फत आपसमा माया व्यक्त गर्दछन्। उक्त समयमा आकाशमा रहेको चन्द्रमाले पनि उनीहरूबीचको चोखो प्रेम सुन्छन् भन्ने विश्वास छ।

 

साभारः सेतोपाटी अनलाइन (२०२४ सेप्टेम्बर १७)