उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) तिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ। सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरुप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले
पूर्वाधार विकास, गरिबी निवारण लगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनपर्ने विचार व्यक्त गर्नुभयो।
चीनका उपप्रधानमन्त्री तिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो। नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने जानकारी उहाँले गराउनुभयो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र चाईना ईन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच भेटवार्ता भएको थियो। त्यस क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासमा सिड्काको योगदानको प्रशंसा गर्नुभयो। उहाँले विगतमा भएका सहमति तथा सम्झौताहरूको कार्यान्वयनका लागि आपसी सहमतिमा समयबद्ध कार्यतालिका निर्माण गर्न जोड दिनुका साथै आगामी दिनमा अझ महत्वपूर्ण सहयोगका लागि अनुरोध गर्नुभयो।
सिड्काका अध्यक्षले पूर्वसहमति कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्ने जानकारी दिनुभयो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीनका अर्का उपप्रधानमन्त्री ह लिफङ भेटवार्ता गर्नुभयो।