बदलियो नेपालीको खर्च प्रवृत्ति
2024-09-27 16:13:23cri
Share with:

नेपालीको जीवनशैली परिवर्तन हुँदा खर्च गर्ने प्रवृत्ति पनि फेरिएको छ । विगतमा घरमा नै खाना खाने नेपालीले अब होटल तथा रेस्टुरेन्टमा गर्ने खर्च बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिमार्जनका लागि लिइएको भारअंकले उक्त तथ्य देखाएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले २०७९/८० मा सञ्चालन गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथोको नतिजाका आधारमा केन्द्रीय बैंकले उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिर्वतनका लागि आवश्यक भारअंक निर्धारण गरेको थियो ।

 

नेपाल जीवनस्तर सर्वेक्षणमा नेपालीले आफ्नो आम्दानीबाट एक वर्षमा विभिन्न वस्तु तथा सेवा खरिदमा गर्ने औसत खर्चका आधारमा नयाँ भारअंक तय गरेको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मानी उपभोक्ता मूल्य सूचकांक गणना गर्दै आएको थियो। चालु आवबाट भने आधार वर्ष परिमार्जन गरेसँगै उपभोक्ता मूल्य सूचकांकका लागि आवश्यक भारअंक परिमार्जन गरेको हो ।

 

उपभोक्ता मूल्य सूचकांकका लागि तयार भएको नयाँ भारअंकले नेपालीको खर्च प्रवृत्ति परिमार्जन भएको छ । भारअंक बढेका वस्तु तथा सेवामा नेपालीले गर्ने औसत खर्च अनुपात बढेको र भारअंक घटेका वस्तु तथा सेवामा नेपालीले गर्ने खर्चको औसत अनुपात घटेको बुझाउँछ । नयाँ आधार वर्षका लागि तयार भएको भार अंकले नेपालीको जीवनशैलीमा भएको परिवर्तनसँगै खर्च गर्ने (उपभोग) प्रवृत्तिमा समेत परिवर्तन भएको देखिन्छ ।

खाद्यान्नमा गर्ने औसत खर्च अनुपात घट्दा रेस्टुरेन्ट र आतिथ्य सेवामा गर्ने खर्च अनुपात बढेको छ । खाद्यान्न साथै दाल तथा गेडागुडी, तरकारी, दुग्धजन्य उत्पादन र अन्डा, चिनी र चिनीजन्य उत्पादन, पेय पदार्थमा गर्ने औसत खर्च अनुपात घटेको छ । यस्तै माछा मासु, घिउ र तेल, फलफूल र मसलामा गर्ने औसत खर्च अनुपात बढेको राष्ट्र बैंकले जनाएको अनलाइनखबरले लेखेको छ।