चिनियाँ र नेपालको टोलीले अध्ययन गरिरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत छेडियो २३५७ मिटर जमिन
2024-09-28 15:24:17cri
Share with:

दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरव बढाउने आयोजना पनि हो। पछिल्लो पटक पेट्रोलियम पदार्थ अन्वेषणको काम चलिरहेको छ। पेट्रोलियम पदार्थको परिणाम पत्ता लगाउन चिनियाँ र नेपालको खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले अध्ययन गरिरहेका छन्। यसअघि टोलीले विभिन्न सर्भेको काम सकेको थियो। सोहि सर्भेबाट पेट्रोलियम र प्राकृतिक ग्यास छ भन्ने प्रमाणित भएपछि परिमाणसमेत पत्ता लगाउन ड्रिलिङ कार्य चलिरहेको छ।

 

पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत अन्वेषणात्मक (वेल) ड्रिलिङको काम हालसम्म ५५ प्रतिशत सकिएको छ। चार महिनाभित्र ड्रिलिङको काम सक्ने गरी गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ थालिएको थियो। ‘ड्रिलिङ’बाट उत्पादन गर्दा कति परिमाण, कति प्रतिशत र कुन प्रविधिले गर्न सकिन्छ  भनेर यकिन गर्न सजिलो हुन्छ। साथै तल रहेको ग्यास अथवा पेट्रोलियम पदार्थको गुणस्तर कस्तो छ भनेर नमुनाका रूपमा प्राप्त हुन्छ। त्यस आधारमा पछि तेलको उत्पादनको चरणमा जानुपर्‍यो भने ‘ड्रिल’ गरेको ठाउँलाई कसरी प्रयोग गर्ने भन्ने सबै कुरा प्राविधिक रूपले अनुमान गर्न सकिन्छ।

 

नेपाल र चीन सरकारबीच भएको सम्झौता बमोजिम चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सिजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट अन्वेषणात्मक (वेल) ड्रिलिङ सुरु भएको थियो। हालसम्म ५५ प्रतिशत ‘ड्रिलिङ’ अर्थात् जमिन छेड्ने काम सम्पन्न भएको छ। ड्रिलिङ भनेको पेट्रोलियम पदार्थबारे अन्तिम पुष्टि हो। पेट्रोलियम अन्वेषणमा बाहिरबाट जतिसुकै अप्रत्यक्ष रूपमा अध्ययन गरे पनि वास्तविकताबारे जमिनमा ‘ड्रिल’ नगर्दासम्म पत्ता लगाउन सकिँदैन।

अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार वैशाखयता ५५ प्रतिशत ड्रिलको काम सकिएको खानी तथा भूगर्भ विभाग भूगर्भविद् प्रकाश लुइँटेलले बताउनुभयो। ‘चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म २ हजार ३ सय ५७ मिटर ड्रिलिङ भइसकेको छ, यहाँ पेट्रोलियम पदार्थको छ वा छैन, छ भने कति मात्रामा छ भन्नेबारे ड्रिलिङको काम सम्पन्न भएपश्चात् मात्र भन्न सकिन्छ,’ लुइँटेलले भन्नुभयो। जमिनमुनि कडा चट्टानले गर्दा ड्रिलिङको काम तोकिएको समयभन्दा केही समय बढी लाग्न सक्ने लुइँटेलको भनाइ छ। ड्रिलिङको काम अन्तिम चरणमा पुगेपछि कति परिणाममा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिने लुइँटेलले बताउनुभयो।

 

ड्रिलिङका लागि सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको कामका लागि आयोजना स्थलमा प्रमुख ‘ड्रिलिङ’ इन्जिनियरहरूसहित ३४ जना चिनियाँ प्राविधिक टोलीले काम गर्दै आएका छन्। चिनियाँ प्राविधिक टोली बाहेक ४० जना नेपाली कामदारले आयोजनाको काम गर्दै आएका छन्। दैलेखमा हाल चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषण कार्य सुरुमा तीन वर्षभित्र तीन चरणमा सक्ने गरी सम्झौता भएको थियो। कोरोना महामारीका कारण झन्डै दुई वर्ष काम ठप्प रह्यो।

पहिलो चरणमा चिनियाँ प्राविधिक टोलीले दैलेखको स्थलगत अध्ययन गरी पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थियो। त्यसैको आधारमा ड्रिलिङका लागि रिग हावस निर्माण थप कार्य सुरु भएको थियो। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चारवटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरेको थियो। नेपालको संविधान २०७२ जारी भएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदा तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति चीन सरकारसँग भएको थियो।