अविरल वर्षासँगैको बाढी, पहिरोमा परी अहिलेसम्म १० जनाको ज्यान गएको छ । ११ जना बेपत्ता भएका छन् । सात सय ६० जनाको सकुशल उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ । काभ्रेमा तीन जना, पाँचथर र धनकुटामा दुई/दुई जना तथा धादिङ, काठमाण्डौ र ललितपुर एक/एक जना गरी १० जनाले ज्यान गुमाएको र थप क्षतिको विवरण आउन बाँकी रहेको उज्यालो अनलाइनले जनाएको छ। सबैजसो राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको केन्द्रीय प्रहरीले जनाएको छ ।
यसैबीच लगातारको झरीले देशका देशभरको जनजीवन प्रभावित भएको छ । केही ठाउँमा निकै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नदी र खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यका पनि जलमग्न भएको छ । बस्ती र सडक पानीले डुबेका छन् । पानीको उचित निकास नहुँदा कतिपय सडक खोला र पोखरीजस्ता भएका छन् । बागमती, विष्णुमती, खोकना, बल्खुखोला, धोबीखोला, कर्मनाशा, मनोहरालगायतका खोला किनाराका बस्ती डुबानमा परेका हुन् । खोकना, गौरीघाट, नख्खु, बलम्बु, गोंगबु बसपार्क क्षेत्रमा बाढी पसेको छ । कुलेश्वरको खाद्य गोदाममा बाढी पसेर क्षति भएको प्रहरीले जनाएको छ।
अर्को समाचार अनुसार अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत सेवा प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाण्डौ उपत्यकाका धेरैजसो क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ । उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा झन्डै चार मेगावाट हुने गरेकोमा आज दुई सय मेगावाट मात्र रहेको उहाँले बताउनुभयो ।
निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेको छ । अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्लाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।
कान्तिपुर अनलाइनका अनुसार चीनसँगको तातोपानी नाका जोड्ने एक मात्र भोटेकोसीको बेलिब्रीज केहीबेर अघि बाढीले बगाएको छ । उक्त पुल बगाएपछि अब उत्तरी नाकाको आवागमन बन्द भएको छ । पुल बगाएपछि भोटेकोसी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने बस्तीहरुमा आउजाउ गर्न अब जंगलको बाटो हिँडनुपर्ने भएको छ । पुल बगाएपछि चीनसँगको व्यापारिक कन्टेनर आउजाउ पूर्ण रुपमा रोकिएको छ । अरनिको राजमार्ग निर्माणका क्रममा चीनले बनाएको लार्चास्थित पक्की पुल २०७४ साल साउनमा पहिरोले भोटेकोसीमा खसालेको थियो ।
पक्की पुलको अभावमा बेलिब्रिज राखेर अस्थायी रुपमा आउजाउ गरिँदै आएको थियो । चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने स्थान रहेको पक्की पुल बगाएको ८ वर्षसम्म सरकारले बेवास्ता गर्दै आएको गुनासो स्थानीयको रहेको छ ।
यसको असर व्यापारिक कारोबार पर्ने देखिन्छ । खासगरी दसैंका सामान सीमा नाकामा ल्याइएको अवस्थामा पुल बगाएपछि भारी बोकाएर ल्याउन पनि धेरै कठिन हुने तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारीले जानकारी दिए ।