राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान प्रदान समारोह
2024-09-29 16:05:22CRI
Share with:

जन गणतन्त्र चीनको ७५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा चीनले आईतबार राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान प्रदानको एक उच्चस्तरीय समारोहको आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, केन्द्रीय सैन्य आयोगका अध्यक्ष तथा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान प्राप्त गर्नेहरूलाई पदक प्रदान गर्नुभएको छ।

पदक प्रदान समारोहमा चार जनालाई गणतन्त्र पदक प्रदान गरिएको छ।

क्षेप्यास्त्र र रकेट विशेषज्ञ र चीनको मानव अन्तरिक्ष कार्यक्रमका अग्रगामी वाङ योङ्चीलाई मरणोपरान्त सम्मान गरिएको छ। अन्य तीन सम्मानितहरूमा ल्युकेमिया उपचारमा सफलता पाउनुभएका वैज्ञानिक वाङ चनयी, विशेषज्ञ ली चनसेचङ, र युद्ध भेट्रान हुवाङ चोङद हुनुहुन्छ।

न्यू डेभलपमेन्ट बैंककी अध्यक्ष तथा ब्राजिलका पूर्व राष्ट्रपति दिल्मा रुसेफलाई मित्रता पदक प्रदान गरिएको छ।

यसबाहेक, १० जनालाई राष्ट्रिय सम्मान मानार्थ उपाधि प्रदान गरिएको छ।

जन बृहत् सभाभवनमा गणतन्त्र पदक, मित्रता पदक र राष्ट्रिय सम्मानका पदकहरू प्रदान गरिसक्नु भएपछि राष्ट्राध्यक्ष सी चिन फिङले उक्त समारोहलाई सम्बोधन पनि गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले जन गणतन्त्र चीनको ७५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा चीनको सर्वोच्च राष्ट्रिय सम्मान प्राप्त गर्नेहरूलाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले विगत ७५ वर्षमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थायित्वका दुई चमत्कारहरू सिर्जना गर्न सबै जातीय समूहका चिनियाँ जनताको नेतृत्व गरेको बताउनुभयो। राष्ट्राध्यक्ष सीले चीनमा भएका परिवर्तनहरूको प्रशंसा गर्दै राष्ट्रिय कायाकल्प अब अपरिवर्तनीय ऐतिहासिक मार्गमा रहेको औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले चिनियाँ जनतालाई शक्तिशाली चीन निर्माण गर्न राष्ट्र नायक तथा रोल मोडेलबाट सिक्न आह्वान पनि गर्नुभयो। सीले महान समयले नायक तथा नायकहरूको माँग गर्ने पनि औँल्याउनुभयो। पुस्तौँपुस्तामा उदाउने नायकहरूको आकाशगंगाले पार्टी र जनहितको दिगो समृद्धि सुनिश्चित गर्नेछ, सीले भन्नभुयो।

राष्ट्राध्यक्ष सीले चीनको विकास र चिनियाँ र विदेशी जनताबीचको मित्रतामा महत्वपूर्ण योगदान पुर्‍याएका अन्तर्राष्ट्रिय मित्रहरूलाई चिनियाँ जनताले कहिल्यै नभुल्ने पनि औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले मित्रता पदक प्राप्त गर्ने दिल्मा रुसेफलाई चीनका पुराना मित्र र असल साथीहरूको उत्कृष्ट प्रतिनिधिको रूपमा प्रशंसा गर्नुहुँदै विगत ७५ वर्षदेखि चिनियाँ जनतासँग समान आकांक्षा साझा गरेको भन्नुभयो। चिनियाँ जनता विश्व शान्तिको रक्षा र साझा विकासलाई प्रवर्द्धन गर्न विभिन्न देशका जनतासँग मिलेर काम गर्न तयार रहेको पनि बताउनुभयो।

राष्ट्राध्यक्ष सीले साझा भविष्य भएको मानव समुदाय निर्माण गर्न र मानवताको अझ उज्यालो भविष्य निर्माण गर्न संयुक्त प्रयास गर्न आह्वान पनि गर्नुभयो।