चीनको लोक कागज-कर्तन-2
2024-10-02 15:25:50cri
Share with:

कागज काटेर बनाइएका वस्तुहरु प्रशस्त छन्। तिनमा आफूलाई मनपर्ने फूल, चरा-चुरुंगी, कीरा-फट्याँग्रा, माछा, स-साना जनावर, किंवदन्तीमा लेखिएका पात्र, प्राचीन साहित्यिक रचनाका मानिस तथा पैचिंग ओपेराका पात्रका मुकुण्डाहरु आदि-आदि, प्रायजसो सबै क्षेत्रहरु समावेश छन्। चीनका विभिन्न क्षेत्रका रैथानेहरुको दैनिक जीवनको बानी र रुची फरक-फरक भएकाले विभिन्न क्षेत्रको कागज-कर्तनको पनि स्थानीय विशेषता छ। उत्तरी क्षेत्रको कागज-कर्तन हेर्दा सीधा-सादा र शक्तिशाली देखिन्छ र तिनको विषयवस्तु पनि निकै पर्याप्त छ। दक्षिणी क्षेत्रका कागज-कर्तन भने हेर्दा सूक्ष्म र सुन्दर देखिन्छ र यसमा जल-क्षेत्रको विशेषता छ। तर जहाँ भए पनि वा कुनै पनि विषयवस्तुका कागज-कर्तन भए पनि वास्तविक रुप र भावको आदान-प्रदानमा विशेष ध्यान दिएको छ।

पहिले चीनका गाउँ-घरहरुमा शरद्‍ ऋतुपछि कृषिको मेलोमेसोमा व्यस्त नभएको याममा महिलाहरुले सधैं नै भेला भएर कागज काट्न मन पराउँथे। यो प्रत्येक गाउँले केटीले जान्नुपर्ने हस्तकलाको शीप थियो। साथै यसलाई दुलहीको हात बसेको छ कि छैन भन्ने एक मापदण्डको रुपमा पनि लिइन्थ्यो। समाजको विकासका साथसाथै अब कागज काट्न सिक्नेहरुको संख्या धेरै कम छ। तर पनि कसै-कसैले कागज-कर्तनलाई एक विशेष पेशाको रुपमा लिइरहेका छन। हाल चीनमा कागज-कर्तन कला सम्बन्धी कारखानाहरु छन्। साथै राष्ट्रिय स्तरको कागज-कर्तन कला संघ पनि छ। त्यसले नियमित रुपमा कागज-कर्तनको प्रदर्शनीको आयोजना गर्ने, यस सम्बन्धी प्रविधिको आदान-प्रदान गराउने, काजग-कर्तनका रचनाहरु संकलन गरेर प्रकाशन गर्ने जस्ता काम गर्नेगरेको छ। आज आएर कागज-कर्तन सजिसजाउ र सुसज्जित पार्ने व्यावहारिक भूमिकाबाट विकसित भएर एक छुट्टै कलाको रुपमा स्थापित भैसकेको छ। कागज-कर्तनका रचनाहरुको विषय-वस्तु पनि युगको विकास क्रमसँगसँगै निरन्तर रुपमा विस्तृत हुँदैआएको छ। यसका साथै अरु कला क्षेत्रहरुले पनि कागज-कर्तन कलाको विशेष प्रदर्शित पद्धतिलाई आफूमा समाहित गरेर धारावाहिक चित्रकारी पुस्तक, रंगमञ्चको दृश्य, समाचार पत्र र पत्रिकाको मुख्य पाना, पुस्तकको आवरण र चलचित्र तथा टीभि कार्यक्रम जस्ता धेरै क्षेत्रका रचनाहरुमा कागज-कर्तन कलाको सुन्दर छबी देख्न पाइन्छ।