अक्टोबर ३ तारिख कतारको दोहामा एसियाली सहयोग संवादको तेस्रो नेतागण सम्मेलन बसेको छ । खेलकूद कूटनीति भन्ने मूल नारा राखिएको उक्त सम्मेलनको अध्यक्षता कतारका अमिर तमीमले गर्नुभएको हो। एसियाली सहयोग संवादको वर्तमान अध्यक्ष इरान र एसियाली सहयोग संवादको मनोनीत अध्यक्ष थाइल्याण्डसहित ३३ सदस्य राष्ट्रले उक्त सम्मेलनमा भाग लिएका छन्। चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष चु योङसिनले उक्त सम्मेलनमा भाग लिनुभई भाषण पनि दिनुभएको छ।
आफ्नो सम्बोधनमा चु योङसिनले चीनले अन्य देशहरूसँग मिलेर खेलकूद कूटनीतिको भूमिका निर्वाह गर्दै ऐक्यबद्धता र सहयोगलाई मजबुत बनाएर एशियाको आधुनिकीकरण प्रक्रियालाई अघि बढाउन सँगै काम गर्ने इच्छा व्यक्त गर्नुभयो। साथै संयुक्त रूपमा एशियाको उज्ज्वल भविष्य सिर्जना गर्न तयार रहेको पनि उहाँले जनाउनुभयो।