‘पर्यटकीय हब’ मुलकोट माथि बाढीको बज्रपात
2024-10-04 15:02:54cri
Share with:

सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट पछिल्लो समय पर्यटकीय हबका रूपमा चिनिँदै थियो। सुनकोसीको शान्त बेगसँग आनन्दित भएर बसेको मुलकोटको अहिलेको अवस्था भने ठिक विपरीत छ । पानीको फोहरासहितको स्वीमिङ पुल, गार्डेन, पार्क अहिले मरुभूमिमा परिणत भएका छन् । गत शुक्रबार र शनिबारको भारी वर्षासँगै आएको बाढीले मुलकोटको हराभरालाई तहसनहस बनाएको छ । होटल, रिसोर्ट, बजार, स्कुल, पुल, स्थानीयका घरहरूमा बाढीले वितण्डा मच्चाएको छ । शान्त र आकर्षक मुलकोट अहिले विपत्तिसँग जुधिरहेको छ ।

संघीय राजधानी काठमाडौंबाट ९० किलो मिटरको दुरीमा रहेको मुलकोट एक रात बास बसेर फर्कने (वान नाइट स्टे) आन्तरिक पर्यटक र वाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै थियो। दिन दुगुना रात चौगुनाको हिसाब द्रुत गतिमा ‘पर्यटकीय हब’ बन्दै गरेको मुलकोटको अहिलेको अवस्था भने विकराल छ, अझ भनौं बाढीको संकटै–संकटबाट गुज्रेको छ ।

सुनकोसीको बाढीले सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट बजार, सित्खा, खैरनी, रातमाटा डुबान परेर करोडौंको क्षति भएको छ । मुलकोटमा रहेको पशुपति आधारभूत विद्यालयसँगै दर्जनौं होटल तथा रिसोर्ट र बस्तीहरू डुबानमा परे । राति नै बस्तीमा सुनकोसी नदी प्रवेश गरेपछि झनै अर्को विपत्ति आइलाग्यो । स्थानीयले भागेर बल्लतल्ल ज्यान त जोगाए, तर सामान भने जोगाउन सकेनन् । जसकारण पनि मुलकोटले झन् ठूलो क्षति बेहोर्नु पर्‍यो ।

सुनकोसीको बाढीबाट मुलकोटमा मात्रै ६० घरहरू डुबानमा परेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहाल बताउनुहुन्छ। मुलकोट बजार र आसपासका ६० घर डुबानमा परे । त्यहाँ भएका सरसामान बाढीसँगै बगे । केही पानीमा डुबेर नष्ट भए, जसकारण झन् ठूलो क्षति बेहोर्नु पर्‍यो,’ उहाँले भन्नुभयो, अनलाइनखबरले समाचार लेखेको छ।