उत्तर-पश्चिमी चीनको पल्लो शान्सी प्रान्तमा पर्ने फंग स्याँग शहरमा उत्पादन गरिने झुण्ड्याइने माटे बाघ स्थानीय रितिस्थितिको विशेषतायुक्त सजावटको वस्तु हो। त्यो छ सेन्टीमीटरदेखि एक सय सेन्टीमीटरभन्दा बढीसम्मको फरक-फरक नापको हुन्छ। जुन हिलो माटो साँचोमा हालेर बनाइएको हो। त्यो पातलो र रंगीचंगी देखिन्छ।
झुण्ड्याइने रंगीन माटे बाघ बनाउँदा सर्वप्रथम सेतो पींधमा कालो धर्को कोरेर विभिन्न रंग लगाएर आखिरमा तेल लगाएर सिध्याइएको हो। त्यसको रुप-आकार यस्तो छ: अगाडिबाट हेर्दा एउटा बाघको टाउको, त्यसमा गोला-गोला आँखा, ठूलो कान, ठूलो मुख, उठेका आँखीभौं, फराकिलो निधार, निधारमा कोरिएको प्याउनीको फूल (कुनै-कुनैमा चिनियाँ अक्षर "वाङ्ग" पनि कोरिएको छ।) कोरिएको छ। बाघका दुइवटा कान, गाला र निधारमा स्प्रिंगले जोडिएका चरा, फूल, घाँस र मानिसहरु छन्, जसलाई हल्लाउन सकिन्छ। दुबै गालामा कोरिएका रंगीन चित्रहरुमा अनार, इस्कुस, आरुको फूल, प्याउनी र आइ छाउ भन्ने एक किसिमको घाँसजस्ता मंगलमय अर्थ दिने भनिएका बुट्टाहरु कोरिएका छन्। अनारको अर्थ बढी सन्तान पाउने, इस्कुसलाई चिनियाँ भाषामा फु शौ भनिन्छ। त्यसको भिन्नार्थ शव्द चिनियाँ भाषा "फु" भनेको सुखको आशीर्वाद दिने, आरु र आरुको फूलको अर्थ भूत-पिसाच र प्रकोपलाई भगाउने-पन्छाउने, प्याउनीको फूलको अर्थ धनी र गौरव कमाउने, आई छाउ घाँसको अर्थ विष र रोगव्याधीलाई हटाउने आदि। ती बुट्टा र धर्कोको बनौट निकै सूक्ष्मताका साथ मिलाइएको छ। कुन ठाउँ पातलो गरी कोर्ने र कुन ठाउँ बाक्लो गरी कोर्ने भनेर एकदमै उचित तरिकाले मिलाइएको देखिन्छ। ती बुट्टाको डिजाइन गर्दा सममिताकार आधारमा आंशिक सन्तुलन मिलाउने प्रयास गरिएको छ। यस चित्रमा देखाइइएको झुण्डिने बाघको रंग ताजा र उज्यालो छ। यो खुशी, मंगल र शगुनले भरिपूर्ण छ। यसबाट सुख आनन्द, चिरायु, शान्ति, लच्छिन र मंगल होस् भन्ने सुमधुर अभिलाषा यथेष्ट रुपमा अभिव्यक्त भएको छ।
यस चित्रमा देखाइएको झुण्ड्याइने माटे बाघको रंग गाढा र उज्यालो छ र चित्रभरि मंगलमय र लच्छिन भावले मग्नमस्त भएको छ। यसबाट लच्छिन, चिरायु, सुख, आनन्द र मंगलमयको प्रार्थना गर्ने सुमधुर चाहना पूराका पूरै अभिव्यक्त भएको छ।
कपडाको बाघ
कपडाको बाघ चीनको लोक-दुनियाँमा व्यापक रुपमा प्रचलित रहिआएको एक खेलौना हो। चिनियाँहरुको दिमागमा बाघ भूत-पिसाच र प्रकोपलाई पन्छाउने साथै कुशलता र लच्छिनको प्रतीक हो साथै त्यसले धन-सम्पतिको रक्षा-जोगाड गर्ने काम पनि गर्दछ। चिनियाँ पात्रो अनुसार पाँचौ महिनाको पाँचौ दिनमा पर्ने तुआन ऊ भन्ने चाडको बेलामा लोक-दुनियाँमा वाल-वालिकालाई कपडाको बाघ बनाउने वा लाल हरितालले वाल-वालिकाको निधारमा बाघको अनुहार कोर्ने चलन छ। त्यसबाट मानिस स्वस्थ, बलियो र साहसी हुने विश्वास गरिन्छ। कपडाको बाघमा एक-टाउके बाघ, दुइ-टाउके बाघ, चार-टाउके बाघ, बघिनी, तकियाका लागि बाघ र सेटदार बाघ गरी किसिम-किसिमका बाघ रहेका छन्।
कपडाको बाघ बनाउन प्रयोग गरिने सामग्री र शीप-कला फरक-फरक छ। प्रायजसो देखिने बाघ कपडा वा रेशमी कपडाबाट बनाइएको हुन्छ, त्यस्ता कपडाबाट बाघको रुप-आकारमा सिएपछि त्यसभित्र काठको धूलो वा भुस भरेर अनि कपडामा रंगीन बुट्टा कोर्ने, कारचोपी भर्ने, कैंचीले प्वाल पार्ने, टाँस्ने, कुँद्ने र टाटो हाल्ने जस्ता तरिकाद्बारा बाघका आँखा, मुख, नाक, कान र अरु बुट्टाहरु कोरेर बाघको रुप दिइन्छ। कपडाको बाघको टाउको निकै ठूलो, मुख निकै ठूलो र पुच्छर निकै ठूलो भएमा त्यो निकै शक्तिशाली र साहसिलो भएको मानिन्छ। बाघको टाउको र अनुहारका सबै अवयवहरु माया लाग्दा हुन्छन र त्यसमा मायालु केटाकेटीपन झल्किन्छ।
तुआन ऊ चाड बाहेक वसन्त चाड, युआन स्याओ अर्थात् दिपावली आदि अरु चाडबाडको बेला तथा नयाँ बच्चा जन्मिएको तेश्रो दिन, सयौं दिन, जन्मिएको एक वर्ष र दुइ वर्षका बेलामा पनि मानिसहरुले सधैं नै विभिन्न आकारका कपडाका बाघ बनाउने गर्दछन्। यसबाट पनि भूत-पिसाचलाई भगाउने-पन्छाउने, रोग व्याधीदेखि हटाउने र आशीर्वाद दिने अर्थ बुझाइएको छ।