गौतमबुद्ध विमानस्थलबाट फ्लाई दुबई, जजिरा र एयर एसियाले उडान गर्दै
2024-10-14 16:34:24cri
Share with:

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दैछन्।

 निर्माण सम्पन्न भएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्ड मुख्यालय रहेको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन्। यी तीनवटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका राससले जनाएको छ। सोहीअनुरूप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ।

 फ्लाई दुबईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्नेछ। कम्पनीको यो विमानस्थलमा पहिलो उडान हुनेछ। हप्ताका सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो।

 यसैबीच फ्लाई दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक तिवारीले बताउनुभयो। जजिरा एयरले भने कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दै छ। यसअघि १० महिना उडान गरेर उडान स्थगन गरेको एयरलाइन्सले पुनः सोही उडान सुरु गर्ने भएको हो। जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ। जजिराको विमान बिहान ७-३० मा भैरहवा आएर ८-३० मा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ। दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगन गरेको थियो।

फलाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ  हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा स्थानीय निजी क्षेत्र निराश भएको छ। सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो।

 दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। तर विभिन्न समस्या देखाएर बीचमा रोकेको थियो। अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ।

त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ। उक्त एयरलाइन्सको प्राविधिक टोलीले केही दिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो।

 प्राविधिक टोलीलाई विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरु जस्तै: बजार विश्लेषण, अन्य अपरेसनसँग सम्बन्धित अन्य फाइदाको विस्तृत जानकारी दिइएको थियो। यद्यपि, यो एयरलाइन्सले कहिले उडान सुरु गर्ने भन्ने टुङ्गो लागेको छैन।

यही असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो। एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्त्वपूर्ण गन्तव्यमा उडान गरिरहेको छ। नेपाल र थाइल्यान्ड पर्यटनलगायत विभिन्न हिसाबले जोडिएका छन्। वार्षिक ४० हजारभन्दा बढी थाइल्यान्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालित थियो।