हालै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ अन्तर्राष्ट्रिय युनिभर्सिआड सिर्जनशील प्रतियोगितामा सहभागी विद्यार्थी प्रतिनिधिलाई जवाफी पत्र पठाउँदै उनीहरूलाई प्रेरणा र आशा प्रदान गर्नुभएको छ।
आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले सिर्जनशीलता मानवजातिको प्रगति हुने उद्गम बिन्दु हुनुका साथै युवा पुस्ता सिर्जनशील कार्य चलाउने महत्वपूर्ण प्रेरणात्मक शक्ति भएको कुरामा जोड दिनुभयो। युवा पुस्ताको विकासको ख्याल विचार गर्दै सिर्जनशील कार्य चलाउने राम्रो वातावरणको सिर्जना गरी चिनियाँ शैलीको आधुनिकीकरण भन्ने फराकिलो चौतारोमा युवा पुस्ताको श्रेष्ठता देखाउन उहाँले पुरै समाजलाई आह्वान गर्नुभएको छ।
चिनियाँ अन्तर्राष्ट्रिय युनिभर्सिआड सिर्जनशील प्रतियोगिता शिक्षा मन्त्रालय, सम्बद्ध विभाग र प्रान्तीय तहका जन सरकारको संयोजकत्वमा आयोजना गरिएको हो। त्यसको उद्देश्य देशी र विदेशी विश्वविद्यालयका विद्यार्थीहरूका लागि सिर्जनशील कार्य चलाउन र आदानप्रदान तथा सहकार्य चलाउनका लागि एउटा चौतारो प्रदान गर्नु रहेको छ। चालु वर्षको प्रतियोगितामा १५३ वटा मुलुक र क्षेत्रका २ करोडभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन्। तीमध्ये विदेशी विद्यार्थीको संख्या लगभग ४० हजार रहेको छ। केही दिनअघि २५ जना सहभागी विद्यार्थी प्रतिनिधिले राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाएका थिए।