विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम
2024-10-22 15:58:13CRI
Share with:

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् । सवारी साधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा प्रयाप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या व्यहोर्नुपरेको धारणा सर्वसाधारण यात्रुसहित यायातात व्यवसायीले व्यक्त गर्नुभएको छ ।

यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडक खण्डमा सवारीसाधन चार्ज गर्न घण्टौँ लाइनमा बस्नुपरको, जङ्गल क्षेत्रमा रहेका चार्जिङ स्टेसनमा गुणस्तरीय होटल तथा शौचालयसहित आधारभूत आवश्यकता नभएको तथा सरकारीको तुलनामा निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसन करिब दुई गुणासम्म महँगो भएको भनी उहाँहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभएको छ ।

वीरगञ्जका सवारी चालक रोहित साहले भन्नुभयो, “सरकारी चार्जिङ स्टेसनमा एक युनिट बिजुलीको मूल्य चार रुपियाँ छ भने निजी क्षेत्रकोमा आठ रुपियाँसम्म पर्दछ, यसले सरकारी स्टेसनहरुमा भीड बढाएको छ, लामा रुटमा चल्ने विद्युतीय सवारी साधनले बेग्लै खालको समस्या झेल्नुपरेको छ, त्यसतर्फ राज्यपक्षको ध्यान जान आवश्यक छ ।”

यसैगरी विराटनगरका चालक प्रेम आलेले भने, “गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढीपहिरो सडक बिगारिदिँदा यसअघि चल्तीको बिपीमार्गमा गाडी चलाउन गाह्रो छ, अहिले देशको पूर्वी क्षेत्रतर्फ जाने गाडीहरु चार्जिङ स्टेसनरहित कान्ति राजमार्ग हुँदै गुडिरहेका छन्, सो सडक खण्डमा पनि सरकारी चार्जिङ स्टेसनको व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यान जान जरुरी छ ।” रासस