पछिल्लो तीन महिनामा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति
2024-10-22 15:45:07CRI
Share with:

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई विश्व जगत्मा चिनाउन सहयोग गर्ने पर्यटन क्षेत्रमा पनि पछिल्लो तीन महिनामा यस्ता कैयौँ कार्य पूरा भएको जनाएको छ। पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पछिल्लो तीन महिनामा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत योजना बनाउने, पर्यटन ऐनको मसौदा तयार पार्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा विकास गर्ने विधेयक, संस्कृति नीतिको मसौदा, क्यासिनो नियमावलीको मसौदा मन्त्रीपरिषद्मा पेस गर्ने र नेपाल वायुसेवा निगमतर्फ सुधार योजनालगायतका काम भएको बताउनुभयो।

पछिल्ला तीन महिनामा सरकारले लिएको लक्ष्य अनुसार छ हजार पाँच सय मिटरभन्दा तलका हिमाल खुला गर्ने विसं २०८१ असोज २२ गते मन्त्रीपरिषद्बाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको, ग्रेट हिमालयन ट्रेलको निर्माणतर्फ पाँच किलोमिटर ट्रेल निर्माण, लुम्बिनी विश्व सम्पदा संरक्षण कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने र भूकम्पबाट क्षतिग्रस्त भएका ९२० वटा पुरातात्त्विक महत्वका सम्पदामध्ये अघिल्लो आर्थिक वर्षमा आठ सय संरचनाको निर्माण सम्पन्न भएकोमा पछिल्लो तीन महिनामा थप पाँच वटा संरचनाको निर्माण पूरा भएको जानकारी दिनुभएको छ ।

उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई इन्धन, ग्राउन्ड ह्यान्डलिङ, पार्किङ, नेभिगेसनलगायतका छुट योजनासमेत अघि बढाइएको जानकारी दिनुभयो। त्यस्तै पर्यटन ऐनको मसौदा राय सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको जानकारी दिँदै मन्त्री पाण्डेले पर्यटन नीति, २०८१ को प्रारम्भिक नीतिको मसौदा तयार भएको, सङ्घीय भाषा ऐनको मसौदा तर्जुमा सम्बन्धमा सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको, संस्कृति नीतिको मसौदा राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानको रायपश्चात् पुनः मन्त्रीपरिषद्मा पेस गरिने भएको गोरखापत्र अनलाइनले जनाएको छ।