नेपालकी चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्ड’
2024-10-22 16:11:22CRI
Share with:

नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्डद्वारा सम्मानित हुनुभएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित ६ देशका सामाजिक अभियन्तालाई उक्त अवार्ड प्रदान गर्नुभयो।

स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेकोमा १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो। अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र  शोषणको लागि काम गर्दै आएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ।

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी हुनुभएको राससले जनाएको छ।

अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुन्। गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गर्नुभएको थियो।