फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले तिहार लक्षित गरेर गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शन गर्ने भएको छ । पुष्प व्यवसायीहरूको छाता संगठन फ्यानले १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ गर्न लागेको हो ।
अनलाइनखबरका अनुसार फूलहरूको चाड तिहारमा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नारासाथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ८ देखि ११ कात्तिकसम्म ललितपुर जावलाखेलस्थित खेल मैदानमा हुनेछ ।
प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक २, अफिसियल ४ र फोटो पारखीका लागि सेल्फी १ गरी कुल ७५ प्रदर्शनी स्टल रहेको फ्यानले जनाएको छ । प्रदर्शनीमा गोदावरी फूलको ५ प्रजातीका आधारमा प्रतिस्पर्धा समेत हुने भएको छ ।
प्रदर्शनीमा सहभागी नर्सरी/फर्मले उत्पादन गरेका गोदावरी फूलका ५ प्रजातीमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रतिस्पर्धा हुने गोदावरीका प्रजातीमा मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।
प्रर्शनीमा गत वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवा समेत प्रदर्शन तथा बिक्री वितरण हुनेछन् । साथै, यो सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य मौसमी फूल बिरुवा समेत प्रदर्शनीमा समावेश हुनेछन् ।
चार दिन चल्ने प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा आयोजकको छ ।
फ्यानका अनुसार २०११ सालदेखि पुष्प व्यवसाय सुरु भएको इतिहास छ । २०४९ सालसम्म लगभग ८० को संख्यामा मात्रै नर्सरी व्यवसायी थिए । फ्यानका अनुसार हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा रहँदै आएको छ । गत वर्षसम्म ४८ जिल्लामा पुष्प खेती भइरहेकोमा यस वर्ष अर्घाखाँची, खोटाङ, उदयपुर र बर्दियामा पनि पुष्प व्यवसाय सुरु भएको पाइएको हुँदा पुष्प व्यवसाय हुने जिल्ला संख्या ५२ पुगेको छ।
नेपालमा अहिले करिब २ सय ६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ भने १ हजार १ सय ७४ भन्दा बढी व्यवसायी रहेको फ्यानको तथ्यांक छ । जसमा नर्सरीमा ५ सय ३० व्यवसायी, कट फ्लावर उत्पादक ९०, कट फ्लावर खुद्रा व्यवसायी १ सय ५८, पुष्प थोक व्यवसायी ६, इनपुट सप्लायरका २५ र लुज फ्लावर उत्पादकका ३ सय ६५ व्यवसायी छन् ।
पुष्प व्यवसायमा हालसम्म अनुमानित ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको फ्यानले जनाएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ र आयाततर्फ २७ करोड ७९ लाख ५ हजारको कारोबार भएको थियो।