चिनियाँ राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता
2024-10-22 23:11:33CRI
Share with:

स्थानीय समयअनुसार अक्टोबर २२ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच कजानमा अवस्थित क्रेमलिन दरबारमा भेटवार्ता भएको छ।

 

सो अवसरमा राष्ट्राध्यक्ष सीले भन्नुभयो, "यो वर्ष तपाईंसँग मेरो यो तेस्रो भेट हो। यसै महिनाको सुरुमा मैले चीन र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्षगाँठ मनाउन राष्ट्रपतिसँग बधाई सन्देश आदानप्रदान गरेको थिएँ। चीन र रुसले आफूले यात्रा गरेको बाटोलाई फर्केर हेर्दा 'असंलग्न, द्वन्द्वरहित र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने' छिमेकीसँग घुलमिल हुने सही बाटो रोजेका छौँ। नयाँ युगको सुरुवातदेखि नै हामी दुवै पक्षले विभिन्न क्षेत्रमा व्यापक रणनीतिक सहकार्य तथा व्यावहारिक सहयोगलाई गहन र विस्तार गर्दै, दुई देशको विकास, पुनरुत्थान र आधुनिकीकरणमा बलियो गति प्रदान गरेका छौँ। साथै चिनियाँ र रूसी जनताको हित कल्याण बढाउन र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न महत्वपूर्ण योगदान पुर्याएका छौँ। मलाई विश्वास छ कि चीन र रुसबीच पुस्तौंदेखि रहिरहेको गहिरो मित्रता परिवर्तन हुनेछैन र विश्वलाई सहयोग गर्ने र जनताको सेवा गर्ने ठूला देशहरूको जिम्मेवारी पनि परिवर्तन हुनेछैन।

 

ब्रिक्स सहयोग संयन्त्र वर्तमान विश्वका उदीयमान बजारमूलक देशहरू र विकासोन्मुख देशहरूबीच ऐक्यबद्धता र सहयोगका लागि सबैभन्दा महत्त्वपूर्ण मञ्च भएको बताउँदै राष्ट्राध्यक्ष सीले समान, सुव्यवस्थित, बहुध्रुवीय, समावेशी आर्थिक विश्वव्यापीकरणको प्राप्तिलाई बढाउनको लागि एक स्तम्भ शक्ति पनि चाहिने बताउनुभयो। उहाँले भन्नुभयो, ’म ब्रिक्स सहयोग संयन्त्रको भविष्यको विकासको बारेमा राष्ट्रपति ज्यूसमेत अन्य मुलुकका नेताहरूसँग गहन छलफलको अपेक्षा गर्दछु। सबै पक्षहरूबीच सहमति निर्माण गर्न, ऐक्यबद्धता र सहयोगको सकारात्मक सङ्केत पठाउन, ब्रिक्स देशहरूबीच विभिन्न क्षेत्रमा रणनीतिक र व्यावहारिक सहयोगलाई अगाडि बढाउन, ग्लोबल साउथका लागि थप नयाँ अवसरहरू खोज्ने प्रयास गर्नुका साथै मानव जातिको संयुक्त भाग्य समुदाय निर्माण गर्न ठूलो योगदान दिने आशा पनि गरेको छु।‘