यी जातीको कारचोपी भरिएको बुट्टेदार जुत्ता
2024-10-23 08:57:28cri
Share with:

दक्षिण-पश्चिमी चीनको अल्पसंख्यक जातीय क्षेत्रमा बसोबास गर्ने यी जातीय पोशाकमा गाढा स्थानीय विशेषता देखिन्छ। यस बाहेक पोशाकले यी जातीय मानिसको जात र उमेर थाहा दिनुका साथै यी जातीय मानिसहरुको परम्परागत धारणा, चासो, अभिरुचि तथा जातीय रितिस्थिति पनि अभिव्यक्त गर्दछ। यी जातीय पोशाकको शीप-कौशलमा कारचोपी भर्ने, कोखाको कपडालाई छेडेर बुट्टा भर्ने, चाक्लो फिताले बुनेको बुट्टा लगाउने, काटेको कपडे बुट्टा टाँस्ने, बुट्टा टाल्ने, एक बुट्टा अर्को बुट्टामा जड्ने वा गाढ्ने र पोशाकको छेउछाउमा अरु सुहाउँदो रंगको कपडाले छिमल्ने आदि थरि-थरिका पद्धति छन्।

 

 यस चित्रमा देखाइएको अंकुसे आकारको बुट्टेदार जुत्ता युन नान प्रान्तमा बसोबास गर्ने यी जातीय महिलाहरुले लाउने जुत्ता हो। जुन दुइवटा सानो डुंगा जस्तो देखिन्छ। यसको रुप आकार निकै सुन्दर छ। सेतो पींधमा रातो, पहेंलो र नीलो रंगको फूल, घाँस र अरु बुट्टाहरु भरिएका छन्। ती रंगहरु चहकिला, रमाइला र ताजा देखिन्छन्। यसबाट यी जातीकी केटीले यस्तो अंकुसे आकारको बुट्टेदार जुत्ता लगाउँदा कति आकर्षक र सुन्दर देखिएला भनेर अनुमान गर्न सकिन्छ। किंबदन्तीमा उल्लेख गरिए अनुसार, त्यस्तो अंकुसे आकारको बुट्टेदार जुत्ताले दुलहीलाई बचाएको थियो रे। त्यसैले यी जातीय केटीले दुलाहाको घरमा जाँदा बाटाभरि कुशल होस् र आजीवन सुख-आनन्द होस् भन्नाका लागि विवाहकै दिन एक जोडी अंकुसे आकारको बुट्टेदार जुत्ता लाउनैपर्ने चलन छ।

बुट्टेदार सानो थैलो

बुट्टेदार सानो थैलो चीनको लोक कलात्मक वस्तुहरुमध्येको एक हो। जसलाई स-साना चीज-बीजहरु राख्न र सजावटका लागि प्रयोगमा ल्याइन्छ। त्यो विभिन्न किसिमको हुन्छ साथै त्यो प्रशस्त स्थानीय लोक सँस्कृतिले भरिपूर्ण छ। चिनियाँ पात्रो अनुसार पाँचौ महिनाको पाँचौ दिनमा पर्ने तुआन ऊ चाडमा यस्तो बुट्टेदार सानो थैलो लगाएर भूत-पिसाचलाई भगाउन-पन्छाउन र प्रकोपबाट जोगाउन सकिने विश्वास गरिन्छ। थैलोभित्र हालिने चिनियाँ जरीबुटीहरुले लामखुट्टे र कीरा फट्यांग्रालाई मार्ने भूमिका खेलिने विश्वास गरिन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक छ। बुट्टेदार सानो थैलीको रुप ढाँचामा अंग्रेजी अक्षर एक ढाँचाको, जहाज जस्तो दुबैतिर उठेको ढाँचाको, चोंग च भन्ने तीन कुने डल्लो आकारको, आरुको आकारको, चमेरो आकारको, बाघले पाँच थरिका विषालू जनावरलाई झम्टेर खाइरहेको आकारको र सुन्तला आकारको आदि धेरै किसिमका छन्। यसमा मंगलमय, शुभ र लच्छिनको अर्थ निहित छ।



यस चित्रमा देखाइएको बुट्टेदार सानू थैलो एउटा भ्यागुताको आकारको छ। ज्योतिषशास्त्र अनुसार त्यसको चारैतिर बाह्र वर्षको प्रतिनिधित्व गर्ने बाह्रवटा जनावरहरुले सजाइएको छ। किनभने किंवन्तीमा उल्लिखित गरिए अनुसार भ्यागुतो चन्द्रमासित सम्बन्धित छ साथै प्रचलित लोक भनाइ अनुसार लिउ हाई भन्ने केटो र भ्यागुतोको कथासित पनि त्यो सम्बन्धित छ। उता ज्योतीषशास्त्र अनुसार जन्मने वर्ष दर्शाइने ती सबै बाह्रवटा जनावरहरु लच्छिनका पशुहरु हुन्। यो थैलोको आकार ठीक्क छ। त्यतिको ठूलो पनि छैन र त्यतिको सानो पनि छैन। त्यसमा निकै सूक्ष्मताका साथ कारचोपी भरिएको देखिन्छ। त्यो रातो रंगको अर्थ मंगलमय, शुभ र लच्छिन हुन्छ र त्यो हेर्दा मानिसलाई निकै रमाइलो लाग्छ र आफूलाई आनन्द आउँछ।