‘बेदिङ गो’ हिमाल चढ्न नयाँ बाटो
2024-10-23 15:59:26CRI
Share with:

हिमाल आरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङका पर्वतीय पथप्रदर्शक ४५ वर्षीय पासाङकिदर शेर्पाले यहाँको छ हजार १२५ मिटर अग्लो ‘बेदिङ गो’ नामक हिमाल आरोहण गर्ने ‘नर्थ वेस्ट रिच’ नयाँ बाटो पत्ता लगाउनुभएको छ ।

तिब्बततिरको ‘सफ्ट फेस’ बाट यो हिमालको थुप्रैले आरोहण गरिसकेका छन् तर ‘नर्थ वेस्ट’ बाट आरोपण गर्ने उहाँ पहिलो आरोही हुनुहुन्छ । उहाँ चार रात पाँच दिनमा यो हिमालको चुचुरोमा पुग्न सफल हुनुभयो ।

उहाँले बर्सेनि शरद ऋतु सुरु भएपछि नयाँ रुट खोज्ने, बाटो बनाउने र नयाँ हिमाल आरोहण गर्दै आउनुभएको छ । उहाँले हिमाल आरोहण गर्नेलाई अध्यापन गर्ने र आरोहणको तालिम दिने काम पनि गर्नुहुन्छ । गोरखापत्र अनलाइनका अनुसार शरद ऋतुमा हिमाल आरोहण गर्नेको बाक्लो चहलपहल हुन्छ । हिमाल चढ्नेको चर्चा भए पनि हिमाल चढाउने र नयाँ नयाँ हिमाल खोज्दै त्यहाँ पुग्ने बाटो बनाउनेहरू जहिले पनि पर्दा पछाडि हुन्छन् ।

गोरखापत्र अनलाइनका अनुसार १६ वर्षमै हिमाल आरोहणमा ‘किचेन गाइड’ का रूपमा लागेका पासाङ अहिले तालिम प्राप्त अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक हुनुहुन्छ । उहाँले आठ हजारमाथिका सगरमाथा, मनासलु, केटुलगायतका हिमाल १४ पटक आरोहण गर्नुभएको छ । उहाँले सात वटा प्रमाणपत्र पाउनुभएको छ । इन्टरनेसनल माउन्टेन गाइडको उपाधि पाउने नेपालमा ७४ जना पथप्रदर्शक छन् ।

‘बेदिङ गो’ शिखरबाट तिब्बती उपत्यका नयाँ हिमाताल देखिन्छन् । उहाँले भन्नुभयो, “ती हिमतालबारे अध्ययन भएको छ/छैन थाहा भएन तर नेपालको तामाकोशीको जलाधार तिनै क्षेत्रमा पर्छ ।”उहाँले हिमाल चढेर रेकर्ड राख्नुभन्दा पनि नयाँ हिमाल खोज्ने र त्यसको रुट बनाउने काममा बढी खटिएको बताउनुभयो ।