तिब्बतसँग सिमा जोडिएको मुस्ताङ जिल्लाको ढुम्बा ताल पर्यटकीय आकर्षण बन्दै
2024-10-25 15:43:20CRI
Share with:

तिब्बतसँग सिमा जोडिएको मुस्ताङ जिल्ला आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ छ। मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ। वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन्। घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल जोमसोमबजारबाट १५ मिनेटको दूरीमा पर्दछ।

ताल वरपर भौतिक पूर्वाधार निर्माण गरिएको छ भने पर्यटकको सुविधाका लागि रेष्टुरेन्ट सञ्चालन गरिएको छ । निलो रङमा देखिने ताल मुटु आकारको भएकाले मुस्ताङको भ्रमणमा आएका युवायुवतीहरु तालमा पुगेर टिकटक बनाउने, फोटो र भिडियो खिच्ने गर्दछन्। ढुम्बा ताल प्राकृतिक सुन्दरताको खानी रहेको ताल अवलोकनका लागि पुग्नुभएका पर्वतका प्रमोदराज रेग्मीले बताउनुभयो।

उपल्लो मुस्ताङ, कोरला र मुक्तीनाथ पुग्ने अधिकांश पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेको घरपझोङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदिप थकालीले बताउनुभयो। जोमसोम देखि ठिनी हुँदै ढुम्बा ताल पुग्ने सडक विस्तार र तालवरपर पर्यटन पूर्वाधार निर्माण गरिएकाले पछिल्ला केही वर्षयता तालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो।

गोरखापत्र अनलाइनका अनुसार समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ एक सय ६० मिटर र चौडाइ एकसय ३० मिटर छ। १० मिटर गहिराई भएको ताललाई फन्को लगाउन १५ मिनेट लाग्छ।